Close This

मिटरब्याजीविरुद्ध मलंगवाबाट सबै भन्दा धेरै र बागमतीबाट सबै भन्दा कम उजुरी,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-२-२३ गते   ३९१ पटक हेरिएको

सर्लाहीमा मिटरब्याजी विरुद्ध परेका एक हजार नौ सय २० उजुरीहरु मध्य सबै भन्दा धेरै मलंगवा नगरपालिकाबाट र सबै भन्दा कम बागमती नगरपालिकाबाट परेका छन् ।अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपश्चात जिल्लाभरबाट एक हजार नौ सय २० वटा उजुरी परेकामा मलंगवा नगरपालिकाबाट मात्रै चार सय ५८ वटा उजुरी परेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिकाबाट एक सय ३१,बरहथवा नगरपालिकाबाट एक सय २८, कविलासी नगरपालिकाबाट एक सय ६०, हरिपुर नगरपालिकाबाट एक सय ५१, ब्रह्मपुरी गाउँपालिकाबाट एक सय ४८ वटा उजुरी परेका छन् । २० स्थानीय तह रहेको सर्लाहीमा ईश्वरपुर,बरहथवा, मलंगवा,कविलासी,हरिपुर,ब्रह्मपुरी गरी छवटा पालिकाबाट मात्रै ६० प्रतिशत भन्दा बढी उजुरी परेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
यस्तै,हरिपूर्वा नगरपालिकाबाट ९०,बलरा नगरपालिकाबाट ८४,चन्द्रनगर गाउँपालिकाबाट ६८,लालबन्दी नगरपालिकाबाट ६७,गोडैता नगरपालिकाबाट ४९ र कौडेना गाउँपालिकाबाट ४७ उजुरी परेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।भने चक्रघट्टा गाउँपालिकाबाट ३७,धनकौल गाउँपालिकाबाट ३६,बसबरिया गाउँपालिकाबाट ३३,पर्सा गाउँपालिकाबाट ३२,विष्णु गाउँपालिकाबाट २३ र रामनगर गाउँपालिकाबाट पनि २३ उजुरी परेका छन् ।
जिल्लाभरमा सबैभन्दा कम बागमती नगरपालिकाबाट पाँचवटा मात्रै उजुरी परेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जेठ १४ गतेसम्म जिल्लाभरका मिटरब्याज पीडितहरुसँग उजुरी लिएको थियो । पीडितहरुले दिएका उजुरी पालिकागत रुपमा छुट्याउने काम पूरा गरिएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार मिटरब्याज साहुको विवरण समेत ‘एक्सल सिट’मा इन्ट्री गरेर राखि सकिएको छ ।
एक हजार नौ सय २० जना पीडितहरुका उजुरी अब सम्वन्धित पालिकामै पठाएर त्यहाँ जो मिटरब्याजी विरुद्ध उजुरी परेको छ,उनीहरुलाई जनप्रतिनिधिलगायतको रोहबरमा राखेर पहिलो चरणमा छलफल गराइ पालिकाबाटै समस्याको समाधान गर्ने प्रयास गरिने सहायक प्रजिअ घिमिरेले बताए । उनका अनुसार लिएको ऋण भन्दा दोब्बर÷तेब्बर बढीको कागज बनाएर मिटरब्याज साहुले घरजग्गा नै लिलाम गरी उठिवासकै स्थिति सृजना गराएपछि जिल्लाका मिटरब्याज पीडितहरुले  पटक पटक र चरणबद्ध आन्दोलन गर्दै आएका थिए । अहिले आयोग नै गठन गरेर छानबिनको प्रक्रिया अघि बढ्दा न्याय पाउने आश पलाएको हरिवन नगरपालिका २ का मिटरब्याज पीडित रामपुकार महतोले बताए । उनका अनुसार आफुहरुले पटक पटक चरणवद्ध आन्दोलन गरेपछि राज्यको केही  भएपनि ध्यान मिटरब्याजी पीडितहरु तर्फ गएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech