दुर्गा कुमारी अधिकारी
सर्लाहीको हरिवन नगरपालिका र लालबन्दी नगरपालिका वीच साझेदारीमा दमकल(वारुण यन्त्र) सञ्चालन गर्ने सहमती भएको छ । हरिवन नगरपालिकासंग रहेको दमकल(वारुण यन्त्र) साझेदारीमा सञ्चालन गर्ने लालबन्दी र हरिवन नगरपालिका वीच सहमती भएको हो ।
एक्लै दमकल(बारुण यन्त्र) सञ्चालन खर्च व्यहोर्नुपर्ने तर जुन पालिकामा आगलागी भए पनि दमकल(वारुण यन्त्र)पठाउनुपर्ने बाध्यताले खर्च धान्न मुस्किल पर्न थालेको हरिवन नगरपालिकाको गुनासो थियो । त्यसपछि हरिवन नगरपालिकाले जिल्लाका पाँच वटा पालिकाहरुसंग सम्झौता गरी दमकल(वारुण यन्त्र) सञ्चालनका लागि साझेदार बनाएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार बागमती,बरहथवा,हरिपुर,इश्वरपुर र लालबन्दीसंग हरिवन नगरपालिकामा रहेको दमकल(वारुण यन्त्र) साझेदारीमा सञ्चालन गर्ने सम्झौता भएको हो ।
हरिवनको दमकल(वारुण यन्त्र) साझेदारीमा सञ्चालन बापत लालबन्दी नगरपालिकाले वार्षिक रु तीन लाख उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।
हरिवन नगरपालिकाको तर्फबाट नगर प्रमुरमेश बुढाथोकी र प्रमुख प्रशासकीय अधिकृत प्रधान तथा लालबन्दी नगरपालिकाको तर्फबाट नगर प्रमुख बासुदेव अधिकारी र प्रमुख प्रशासकीय अधिकृत लुइटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
२० स्थानीय तह रहेको सर्लाहीमा मलंगवा र हरिवन नगरपालिकासँग मात्रै दमकल (वारुण यन्त्र) रहेको छ । हरिवन नगरपालिकाले दमकल(वारुण यन्त्र) सञ्चालनको खर्च व्यवस्थापन गर्न जिल्लाका पाँच वटा पालिकासँग सम्झौता गरेपनि मलङ्गवा नगरपालिकासँग भने कुनै पनि स्थानीय तहले सम्झौता गरेका छैनन् ।
जिल्लाको उत्तरी क्षेत्रका पाँच पालिकासंग दमकल(वारुण यन्त्र) सञ्चालन गर्न सम्झौगा गरि सकेको हरिवन नगरपालिकाले अब अरु स्थानीय तहहरुसंग सम्झौता नगर्ने बताएको छ ।“भौगोलिक हिसाबले नजिक रहेको पाँच वटा पालिकासंग सम्झौता भयो,अब अरु स्थानीय तहहरु टाढा पर्ने र आगलागी भए पश्चात दमकल(वारुण यन्त्र) पुग्न समय लाग्ने हुँदा आगलागीबाट धेरै नै क्षति भइसक्ने भएकाले पाँच पालिकासँग मात्रै साझेदारी सम्झौता गरिएको छ ।” हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधानले बताए ।