एक अर्कालाई आरोप लगाउँदै विकास निर्माणको काम प्रभावित पार्दै चन्द्रनगरका जनप्रतिनिधिहरु

929 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाका बहुमत कार्यपालिका सदस्यहरु सहित विभिन्न सात राजनैतिक दलहरुले गाउँपालिका अध्यक्षको गतिविधि विरुद्धमा संयुक्त रुपमा चरणवद्ध शान्तिपुर्ण आन्दोलन सुरु गरेका छन् । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोको गतिविधिहरु विरुद्ध १२ जना कार्यपालिका सदस्यहरु सहित स्थानीय नेकपा(माओवादी केन्द्र),नेपाली कांग्रेस,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा),जनता समाजवादी पार्टी(जसपा)नेपाल,नेकपा(एकिकृत समाजवादी पार्टी),लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा)नेपाल र संयुक्त लोकतान्त्रीक राष्ट्रिय मञ्चले चरणवद्ध शान्तिपुर्ण आन्दोलन सुरु गरेका हुन । 
चन्द्रनगर गाउँपालिकाको १५ गाउँकार्यपालिका सदस्यहरु मध्य १२ जना कार्यपालिका सदस्यहरु र ३९ जना गाउँ सभा सदस्यहरु मध्य ३० जना गाउँ सभा सदस्यहरु सहित विभिन्न सात राजनीतिक दलहरुले गाउँपालिका अध्यक्ष महतोको गतिविधि विरुद्ध चरणवद्ध शान्तिपुर्ण आन्दोलन सुरु गरेका गाउँपालिकाकी उपा अध्यक्ष गीतादेवी महतोले जानकारी दिइन् ।
३ जना कार्यपालिका सदस्य र ९ जना गाउँ सभाका सदस्यहरुको साथमा रहेका गाउँपालिका अध्यक्ष महतोले बहुमतलाई वेवास्था गर्दै आफुखुसी निर्णयहरु गर्दै भ्रष्टाचार गर्ने र आफुखुसी निर्णय गर्न नपाए कार्यक्रमहरु गर्न नदिने लगायतका काम गरेका कारण आफुहरु चरणवद्ध आन्दोलनमा उत्रिनु परेको गाउँपालिका उपा अध्यक्ष महतोले बताईन । उनले आफुहरु पनि चन्द्रनगरका जनताको मत लिएर आएको र जनताको चाहना अनुसार गाउँपालिकाले विकास निर्माण काम गर्ने सवालमा एकै ठाउँमा रहेको भएपनि गाउँपालिका अध्यक्ष महतोले जनताका भावनाहरु भन्दा आफ्ना स्वार्थहरु पुरा गर्न खोजेका कारण आन्दोलन सुरु गरिएको हो ।
नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएका गाउँपालिका अध्यक्ष महतोले व्यक्तिगत स्वार्थका कारण पार्टीलाई नै बद्नाम गराउने काम गरेका कारण आफुहरु पनि विरोधमा उत्रनु परेको नेपाली कांग्रेसका नेता श्याम प्रसाद सिंहले बताए । उनका अनुसार नेपाली कांग्रेस व्यक्ति तथा जातीको पछि नलागि अन्याय अत्याचार र व्यक्तिवादी चरित्रका विरुद्ध लागेको हो । गाउँपालिका अध्यक्ष महतोले गाउँपालिकामा हुने कुनै पनि गतिविधिहरुमा कार्यपालिकामा छलफल नगरेर आफुखुसी निर्णयहरु गरि काम गरेका कारण बहुमतको कार्यपालिका तथा गाउँ सभा सदस्यहरु सहित स्थानीय विभिन्न राजनीतिक दलहरु मिलेर शान्तिपुर्ण आन्दोलन सुरु गरेको चन्द्रनगर गाउंपालिका ३ का वडा अध्यक्ष सिताराम महतोले बताए ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम ९० दिन सञ्चालन गर्नु पर्नेमा समय सकिनै लाग्दा पनि काम नगरेका,स्वयमसेवक शिक्षकहरु र कर्माचारीहरु भर्ना गर्नका लागि गाउँपालिकाबाट रु एक करोड निकासी गरिएको भएपनि स्वयमसेवक शिक्षकहरु र कर्माचारीहरु भर्ना नगरेका,गाउँपालिकाको प्रत्यक शाखामा करारमा कर्माचारी नियुक्त गरी आफ्ना आसेपासे कर्माचारीहरु राखी कमिसन उठाउने गरेका,गाउँपालिकाको विकासका लागि आएको बजेटमा रु तीन करोड अनावश्यक कार्यक्रमका लागि गाउँपालिका अध्यक्ष महतोले आफैँले राखेका,कार्यापालिकामा छलफल नै नगराई नाडीमान ताल संरक्षणको काम सुरु गरेका र त्यसबाट निस्केको माटो आफुखुसी विक्रि वितरण गरेका,गाउँपालिकाको जेसिवी चलाएर घण्टाको रु दुई हजार दुई सय हुन आउने राजश्व गाउँपालिकाको राजश्व शाखामा जम्मा नगरेका,प्रदेश र संघबाट प्राप्त भएको बजेटको १० प्रतिशत कमिसन नपाएपछि बजेट फ्रिज गराउने तर काम नगराउने गरेका लगायतका कारण आफुहरु विरोधमा उत्रिएको गाउँपालिकाको कार्यपालिका सदस्यहरु र गाउँ सभा सदस्यहरु सहित स्थानीय विभिन्न सात दलहरुले पहिलो चरणमा शान्तिपुर्ण आन्दोलन सुरु गरेको माओवादी केन्द्रका नेता लोकेन्त्र मुखियाले बताए ।
उनका अनुसार गाउँपालिका अध्यक्ष महतोले चालु आर्थिक वर्ष सकिनै लाग्दा पनि कमिसन नदिने उपभोक्ता समितिहरुलाई कार्यादेश नदिएका,उपभोक्ता समिति बनाउँदा आफ्ना मान्छेलाई राखी कमिसन उठाउने गरेका जसबाट गाउँपालिका भित्र हुने विकास निर्माणको काम गुणस्तरहिन हुने र गाउँपालिका अध्यक्ष महतोले आफु अल्पमतमा हुँदा पनि दादागिरी गरेका कारण आफुहरुले विरोध गर्नु परेको हो ।
यता,स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आफ्नो काम कतव्र्य र अधिकारको दायरामा सबै बस्नु पर्ने भन्दै बहुमतले गरेको आन्दोलन जनभावना विपरित रहेको गाउँपालिका अध्यक्ष महतोले बताए । उनका अनुसार उपा अध्यक्ष गितादेवी सहित अन्य जनप्रतिनिधिहरुले गरेको आनदोलनको कुनै अर्थ छैन् ।
उनले आफुमाथी लगाएको आरोपमा कुनै सत्यता नरहेको जनताको विकास समृद्धिको यात्रामा अवरोध ल्याउने गरी गरिएको कथित आन्दोलन रहेको बताए । “यस प्रकारका भ्रामक,कपोकल्पीत र निराधार कुरामा पछि नलाग्न पनि आफुले विभिन्न माध्यामहरुबाट स्थानीयलाई जानकारी गराएको गरेको ”गाउँपालिका अध्यक्ष महतोले बताए ।
गाउँपालिका उपा अध्यक्ष गितादेवी सहित कार्यपालिकामा आफ्नो बहुमत रहेको दम्भका कारण गाउँपालिकाको विकास निर्माणका काममा प्रभाव पार्ने कथित आन्दोलन रहेको र यसबाट उनीहरुले केही लाभ लिन खोजेका गाउँपालिका अध्यक्ष महतोले बताए । चन्द्रनगर गाउँपालिकाका ७ वटा वडाहरु मध्य ५ वटा वडा अध्यक्षहरु सहित १५ जना कार्यापालिका सदस्यहरु मध्य १२ जना सदस्यहरु,३९ जना गाउँ सभा सदस्यहरु मध्य ३० जना गाउँ सभा सदस्यहरु गाउँपालिका उपा अध्यक्ष गितादेवीको पक्षमा रहेका छन् भने ३ जना कार्यपालिका सदस्यहरु र ९ जना गाउँ सभा सदस्यहरु गाउँपालिका अध्यक्ष महतोको पक्षमा रहेका छन् ।
गाउँपालिका उपा अध्यक्ष गितादेवी सहित चन्द्रनगर गाउँपालिका ३ का वडा अध्यक्ष सिताराम,वडा नम्बर ६ का वडा अध्यक्ष रामस्वरुप राउत र वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी माओवादी केन्द्रबाट निर्वाचित भएका छन् भने गाउँकार्यपालिकामा १५ जना मध्य १० जना माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरु रहेका छन् ।
त्यसैगरी चन्द्रनगर गाउँपालिका ४ का वडा अध्यक्ष राजिवसिंह दनुवार स्वतन्त्रबाट र ५ का वडा अध्यक्ष सुर्यवंश राय लोकतान्त्रीक समाजवादी पार्टी(लोसपा) नेपालबाट निर्वाचित भएका हुन । चन्द्रनगर १ का वडा अध्यक्ष रामेश्वर महतो र २ का वडा अध्यक्ष शम्भु साह नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन । सात जना वडा अध्यक्षहरु,गाउँपालिका अध्यक्ष र उपा अध्यक्षका साथै छ जना कार्यापालिका सदस्यहरु गरी १५ जना कार्यपालिका सदस्यहरु गाउँपालिका उपाअध्यक्ष गितादेवीको नेतृत्वमा १२ जना  रहेका छन् भने गाउँपालिका अध्यक्ष महतो सहित ३ जना कार्यपालिका सदस्यहरु र ९ जना गाउँ सभा सदस्यहरु अर्काे पक्षमा रहेका छन् ।
चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरुको राजनीतिक खिचातानीका कारण विकास निर्माणका कामहरु ठप्प भएका छन् भने असार २ गतेबाट गर्ने भनिएको बालिका सम्मेलन तथा नाडिमन महोत्सव अन्यौलमा परेको छ ।

सम्बन्धित समाचार