पर्साका विभिन्न नाकाबाट सुरक्षाकर्मीहरुको मिलेमतोमा व्यापक तस्करी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-२ गते   ६१९ पटक हेरिएको

मधेश प्रदेशको पर्साका विभिन्न नाकाहरुमा भन्सार छली,चोरी र तस्करी व्यापक मौलाएको छ । जिल्लाका विभिन्न नाकाहरुमा सिमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु कै सहयोग,संरक्षण र संलग्नतामा भन्सार छली,चोरी तस्करी व्यापक मौलाएको पाइएको हो ।
जिल्लाको अमरपट्टी नाकाबाट नेपाल प्रहरी  र सशस्त्र प्रहरीको सहयोग,संरक्षण र संलग्नतामामा भन्सार छली,चोरी र  तस्करी व्यापक मौलाएको पाइएको हो ।सुरक्षाकर्मीहरुलाई कमिसन बुझाउने तस्करहरुले भन्सार छली,चोरी र तस्करी खुलेआम रुपमा गरि रहेका पाइएको स्रोतको दाबी छ ।खाद्यान्न,लक्ता कपडा,किरानाका सामानहरुका साथै कुखुराका चल्लाहरुको समेत व्यापक तस्करी भएको पाइएको छ । कुखुराका चल्लाहरुको तस्करी गर्न अनुप साहले लाईन पाएका छन् । हप्ताको ३ दिन रातको २ देखि ४ बजेको समयमा साहलाई सुरक्षाकर्मीहरुले तस्करीको लाइन  र समय दिइएका पाइएको छ ।


अमरपट्टी क्षेत्रमा मात्रै झण्डै सय भन्दा बढी कुखुराको फर्महरू रहेका छन् र ती सबैलाई कुखुराका चल्ला दिने काम अनुपले गर्दै आएका छन् ।उनले सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको सहयोग,संरक्षण र संलग्नतामामा काम गरि रहेका छन् ।
त्यसैगरी सिसुवा नाका हुदै गहुँको तस्करीको लाईन विजय र सन्दिप सहित चारजनाको समुहले र ड्रमको तस्करीको लाईन वेचनले पाएका छन् ।उनीहरुले करिब ३० वटा साइकलमा गहुँको तस्करी गर्दै आएका छन् ।यसरी दैनिक ३ ट्याक्टर गहुँ तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको छ । दैनिक करिब ४ घण्टा गहुँको लागि सुरक्षाकर्मीहरुले तस्करीको लाइन दिने गरेका छन् ।नेपाल ल्याएपछि नेपाली बिल बनाएर गैर कानुनी गँहुलाई कानुनी बनाउने काम भई रहेको छ ।


जिल्लाको भगवती,भोला,रहमान  र शत्रुधनमा ४ वटा रक्सीका अबैध भट्टीहरू रहेका छन् । हरेक रक्सी भट्टीले नेपाल प्रहरी  र सशस्त्र प्रहरीका स्थानीय प्रमुखलाई मासिक ५ हजारको दरले रकम दिने गरेका एक सुरक्षाकर्मीले स्वीकार गरे ।
त्यसैगरी अलि मियाँलाई भैंसीको तस्करीको लाइन दिइएको छ । अहिले अमरपट्टी नाका तस्करहरूको लागि उर्वर क्षेत्र बनेको छ । नेपाल प्रहरीको स्थानीय चौकीको प्रमुखमा सई हरि चौहान छन् भने सशस्त्र प्रहरीको बिओपी इटिआई प्रमुखका शसस्त्र प्रहरी निरीक्षक दिपेन्द्र मल्ल रहेका छन् । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech