डिभिजन वन कार्यालय पर्साले वन क्षेत्र अतिक्रमण गरी गरिएको लागु औषध गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेको छ ।पर्साको सखुवा प्रसौनी गाउँपालिका १ नयाँबस्ती स्थित वन क्षेत्र अतिक्रमण गरी वर्षौ देखि करिब पाँच विघामा लर्गाइएको गाँजा खेती नष्ट गरिएको डिभिजन वन कार्यालय वीरगन्ज,पर्साका प्रमुख एवम डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।
उनका अनसार डिभिजन वन कार्यालय वीरगन्ज,पर्सा र सव डिभिजन वन कार्यालय बड्निहारबाट गरी खटिएको संयुक्त वनकर्मीहरुको टोलीले सखुवा प्रसौनी गाउँपालिका १ नयाँबस्ती स्थित वन क्षेत्र अतिक्रमण गरी वर्षौ देखि करिब पाँच विघामा लर्गाइएको करिब एक लाख ५० हजार गाँजाका बिरुवा नष्ट गरिएको हो ।गाँजा फडानी गरिएको क्षेत्रका साथै अन्य अतिक्रमित क्षेत्रलाई अतिक्रमण हटाई आफनो मातहतमा ल्याएर वृक्षारोपण गर्ने गरी काम सुरु गरिएको डिभिजन वन कार्यालय वीरगन्ज,पर्साले जनाएको छ ।
पछिल्लो समय वन अतिक्रमण एक व्यापक समस्याको रुपमा देखापर्न थालेको छ।जसले प्राकृतिक पारिस्थितिलाई गम्भीर रूपमा प्रभावित पार्दै आएको जानकारहरु बताउँछन्।उनीहरुका अनुसार कृषि विस्तार,वस्ति निर्माण,अवैध चोरी तस्करी,उत्खनन् क्रियाकलाप,भौतिक संरचनाहरुको विकास र जंगलको दुरुपयोग गर्ने गरेका कारण दिन प्रतिदिन वन विनाश हुँदै गई रहेको छ । जसका कारण जैविक विविधतामा हानी नोक्सानी,जलवायु परिवर्तन र स्थानीय समुदायहरूको जीवनयापनमा समेत नकारात्मक असर पर्न थालेको छ ।