झुठा विवरणमा नागरिकता लिने प्रकरणमा मुद्दा दर्ता

322 Shares

झुठा विवरण पेश गरी गैर(नागरिकले नेपाली नागरिकता लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मुद्दा परेको छ।जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दोहोरो नागरिकता सम्बन्धी कसुरमा मुद्दा परेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।
कार्यालयका अनुसार मुद्दा दिनेहरूमा पर्सा गाउँपालिका ५ का अन्दाजी वर्ष ३४ विरेन्द्र साह सोनार,अन्दाजी ५५ वर्षीय चन्देश्वर राय यादव र अन्दाजी २४ वर्षीय रोहित कुमार महतो रहेका छन्।उनीहरूले भारतको लुधियाना, पंजाब इन्द्र विहार फम्बरा रोडका मोहम्मद रोजा अंसारीका छोरा अन्दाजी ५२ वर्षीय तसलीम अंसारी र उनको श्रीमती अन्दाजी ५० वर्षीया जुमैदा खातुन विरुद्ध उजुरी दिएका हुन्।
तसलीम अंसारीले भारतीय नागरिक हुँदाहुँदै पर्सा गाउँपालिका १ का रोजा मियाँको छोरा भनी झुठा विवरण पेस गरी वंशजको नाताले वि.स २०४५ सालमा नेपाली नागरिकता प्रमाणपत्र (नं.७००५२०३४) प्राप्त गरेका थिए।यस्तै,उनकी पत्नी जुमैदा खातुनले पनि भारतको नागरिक भएकी हुँदाहुँदै झुठा विवरण पेश गरी वि.स २०५४ सालमा नेपाली नागरिकता(नं.७००५२५४०)लिएकी थिइन्। उनीहरू दुबै जनाको भारत सरकारद्वारा जारी आधार कार्ड रहेको,भारतमै जन्म,स्थायी बसोबास र जग्गा(जमिन समेत रहेको प्रमाणित भइसकेको उजुरीमा उल्लेख छ।यस घटनालाई लिएर उनीहरू विरुद्ध नेपाली नागरिकता ऐन,२०६३ को दफा १० र १४ अनुसार नागरिकता बदर गरी ऐनको दफा २१ अनुसार दण्ड सजायको माग गरिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए।
यस्ता झुठा विवरण मार्फत नागरिकता लिने प्रवृत्तिमाथि कडा कारबाहीको माग गरेका छन् भने यस प्रकारका गतिविधिहरु गर्नेहरुलाई कडा कार्बाही गरिने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए।२०६३ सालमा गाउँ गाउँमा नागरिकता बनाउने टोली खटिएको समयमा धेरे गैर नेपालीहरुले नेपाली नागरिकता लिएका रहस्य बाहिरिने गरेको छ ।

सम्बन्धित समाचार