काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले समाजवादी मोर्चालाई ‘कथित समाजवादी मोर्चा’को संज्ञा दिएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत डा.भट्टराईले समाजवादी मोर्चाको कडा आलोचना गरेका हुन् ।
उनले समाजवादी मोर्चाको नियतप्रति नै प्रश्न उठाएका छन्। र,यसलाई सत्ता स्वार्थको हतियार नबनाउन कडा शब्दमा चेतावनी पनि दिएका छन् । नेकपा(माओवादी केन्द्र),नेकपा(एकीकृत समाजवादी),जनता समाजवादी पार्टी(जसपा(नेपाल र नेपाल कम्युनिस्ट पार्टी(विप्लव)मिलेर समाजवादी मोर्चा घोषणा गरिएको छ । तर समाजवादी मोर्चाको अवधारणा ल्याउने डा.भट्टराई स्वयं मोर्चामा भने समेटिएका थिएनन् ।सो समाजवादी मोर्चा घोषणाप्रति डा. भट्टराईले तीव्र असन्तुष्टि प्रकट गरे ।
‘समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन।यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो । कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्। केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस्,’डा. भट्टराईले सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै लेखेका छन् ।