जिल्लामा हुलाक सिन्धुलीले आफ्नो सेवालाई नागरिक मैत्री बनाउँदै घर घरमै राहदानी पुर्याउने कामलाई प्राथमिकता दिएको छ।प्रविधि सुहाउँदो हुलाक सेवा बनाउने विभागको निर्देशनलाई पालना गर्दै देशभरकै सबै भन्दा पहिला डिजिटल प्रविधिमा गई नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै कार्यालयले एक सय ८२ जनालाई घर घर मै पुगेर राहदानी वितरण गरेको छ ।
सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सुरु गरेको हुलाक मार्फत घरमै राहदानी पुर्याउने सेवा सुरु गरेपछि करिब दुई महिनामै सिन्धुलीका एक सय ८२ जनालाई आफ्नै घरमा राहदानी पुर्याएको कार्यालय प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार नागरिकहरुलाई घरमै राहदानी पुर्याउन जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला हुलाक कार्यालय बीच २०८३ वैशाख २९ गते सम्झौता भएको थियो ।
सोही सम्झौता अनुसार गत आर्थिक बर्ष ०८२÷०८३ को असार मसान्तसम्म जिल्लाका विभिन्न पालिकाका गरी एक सय ८२ जनाले हुलाक सेवामार्फत आफ्नै घर घर मै राहदानी प्राप्त गरेका जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए।उनका अनुसार हुलाकमार्फत पहिलो पटक जेठ ११ गते गोलन्जोर गाउँपालिका(७ खुर्कोट निवासी बबिता माझीलाई घरमै राहदानी पुर्याएर राहदानी वितरणको काम सुरु गरिएको हो ।
घरमै राहदानी बुझ्न चाहने नागरिकहरुले हुलाक दर्ता राजस्व बापत रु ५५ शुल्क तिर्नुपर्ने र राहदानीको तौल ५० ग्रामभन्दा बढी भएमा नियमानुसार थप शुल्क लाग्ने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।हालसम्म घरमै राहदानी प्राप्त गर्नेमा दुधौली नगरपालिकाका सबैभन्दा धेरै ८६ जना रहेका छन् भने मरिण र हरिहरपुरगढी गाउँपालिकाका १८–१८ जनाले राहदानी घरमै बुझेका छन् ।
तीनपाटन गाउँपालिका १४ जना, सुनकोशी गाउँपालिका १३ जना, कमलामाई नगरपालिका नौ जना, घ्याङलेख गाउँपालिका आठ जना, गोलन्जोर गाउँपालिकाका पाँच जना,फिक्कल गाउँपालिकाका चार जना र जिल्ला हुलाक कार्यालयबाट सात जनाले सेवा लिएका कार्यालयले जनाएको छ ।
राहदानी वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयको राहदानी शाखामै हुलाक कार्यालयका कर्मचारी खटाइएको छ।गत आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाबाट पाँच हजार नयाँ राहदानी जारी भएको र द्रुत राहदानीका लागि २८ वटा सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ ।यसका साथै राष्ट्रिय परिचय–पत्रको अनलाईन फर्म समेत निःशुल्क भर्ने काम जिल्ला हुलाक कार्यालयले गरि राखेको छ ।