छोरी जन्माउने आमालाई प्रोत्साहन भक्ता बागमती नगरपालिकाको उपहार

854 Shares

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई रु पाँच हजार सुत्केरी भक्ता दिने भएको छ । मधेशमा छोरी जन्मिए दाईजो दिनुपर्छ भन्ने सोचका कारण भ्रुण हत्याका घटनाहरु भई रहेको समयमा बागमती नगरपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुप रु पाँच हजार दिने घोषणा गरेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले जानकारी दिइन् ।
उनका अनुसार आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक  गर्दै उत्कृष्ट दलित विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने साथै छोरी जन्माउने आमालाई रु पाँच हजार सुत्केरी भत्ता दिने घोषणा गरेकोे हो । 
नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने,बागमती नदी किनारमा आधुनिक आर्यघाट निर्माण,सुविधायुक्त बजार केन्द्र निर्माण,सांस्कृतिक नमूना बस्ती,बागमती माछापोखरी (भरत ताल) पर्यटन पुर्वाधार निर्माण आयोजना,बागमती फनपार्क आयोजना,बागमती रिसोर्ट,कृषि आधुनिकीकरण कार्यक्रम,नगर बगैँचा आयोजना,वौद्ध तपोवन पर्यटकीय स्थल निर्माण लगायतका आयोजनालाई नगर गौरवका आयोजनाहरुको रुपमा समेटेर विकास गर्ने बागमती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेटमा  समेटेको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ का लागि रु ९० करोड १० लाखको अनुमानित बजेट सार्वजनिक गर्दै करिब एक दर्जन योजनाहरुलाई नगर गौरबका योजनाहरुको रुपमा समेटिएको हो ।
नगर क्षेत्रमा एकै प्रकारका घर निर्माणका लागि मापदण्ड लागू गर्ने,प्रत्येक वडामा एउटा खुला क्षेत्र कायम गर्ने,नदी उकास,पर्ती जमिनको संरक्षण गनजस्ता विषयलाई प्राथमिकतामा राखेर बागमती नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम र बजेट सार्वजनिक गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् । उनका अनुसार मधेश प्रदेशमै सबैभन्दा धेरै सडक कालोपत्रे बनाउने स्थानीय तहको रुपमा बागमती नगरपालिका रहेको र नगर भित्रका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर तथा भौतिक संरचनाको गुणस्तरमा कुनै कसर बाँकी नराखी काम भई रहेको छ ।
नेपालका पहिलो राणा प्रधानमन्त्री जंगबहादुर वि.सं. १८७४ असार ४ गते मथुराबेँसी अर्घाखाँचीमा जन्मिएका र तराईमा सिकार खेल्न आएको समयमा १९३३ सालमा रौतहटको पत्थरघट्टामा निधन भएको थियो । उनको अन्त्येष्टि भने सर्लाहीको बागमती नगरपालिका ७ राजघाट स्थित मानेचौरमा गरिएको थियो। अहिले नगरपालिकाले सोही स्थानलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न लागेको बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओम श्रेष्ठले बताए ।
‘देशका ७ सय ५३  स्थानीय तहहरुमध्ये नमुनायोग्य नगरपालिकाको रूपमा बागमती नगरपालिकालाई विकास गर्ने छौँ,’नगर प्रमुख थापाले बताए । उनले नगरपालिकाले बनाएका विकास निर्माणका सबै योजना सम्पन्न गर्न करिब रु ६ अर्ब आवश्यक पर्ने छ ।
आगामी आर्थिक वर्षको बजेटमा बागमती नदीमा सुविधायुक्त आर्यघाट निर्माणका लागि रु तीन करोड रकम विनियोजन गरिएको छ ।नगर प्रमुख थापाले बागमती नगरपालिकालाई नेपालकै नमुना नगरपालिका बनाउने गरी काम अघि बढाइएको बताए ।

सम्बन्धित समाचार