सर्लाहीमा भएका दुई दुर्घटनामा एकको मृत्यु,तीन घाईते

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-३-१५ गते   ३७० पटक हेरिएको

दुर्गा कुमारी अधिकारी 
सर्लाहीका विभिन्न दुई स्थान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाईते भएका छन् । जिल्लाको मलंगवा नगपालिका ४ र इश्वरपुर नगरपालिका १३ स्थित बाँके जंगलमा भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको र तीन जना घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
 जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगपालिका ४ स्थित सर्लाही क्याम्पस अगाडि शुक्रबार साँझ मोटरसाइकल र साइकल ठोक्ँिदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक लेखनाथ मैनालीले जानकारी दिए ।
 उनका अनुसार शुक्रबार साँझ करिब ५ः १५ बजे बीआर ३० एच ४२४१ नम्वरको भारतिय मोटरसाइकल र साइकल आपसमा ठोक्किदा मोटरसाईकलका चालकको ज्यान गएको हो भने उनको विवरण खुल्न बाँकी रहेको छ ।
दुर्घटनामा गम्भीर घाइते साइकल यात्री चक्रघट्टा गाउँपालिका ८ बस्ने अन्दाजी वर्ष ३६ का ममताज अन्सारीलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारका लागि वीरगन्जतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ । 
त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ईश्वरपुर नगरपालिका १३ स्थित बाँके जंगलमा बस र दुध बोक्ने ट्यांकर ठोक्किँदा दुई जना घाइते भएका हुन् । बाँके जंगलस्थित भत्किएको लच्का नजिक पूर्वबाट पश्चिमतर्फ आइरहेको को १ ग ५३ नम्वरको दुध बोक्ने ट्यांकर र विपरीत दिशाबाट जाँदै गरेको ना ४ ख ४५८२ नम्वरको बस आसपमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा ट्यांकरका चालक धनुषाको मिथिला नगरपालिका ५ का अन्दाजी वर्ष ४७ का श्रीनारायण महतो र सोही गाडीमा सवार मिथिला नगरपालिका ६ का अन्दाजी वर्ष ३९ रामकृपाल यादव घाइते भएका छन् । घाइते दुवै जनालाई उपचारका लागि मोडल अस्पताल लालगढ, धनुषा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दीपेन्द्र पंजियार थारुले जानकारी दिए । पुर्व पश्चमि राजमार्गको बाँके क्षेत्रमा एउटा स्कारपियो र अर्को ट्रक पनि पल्टिएका छन् । स्कारपियो र ट्रक दुर्घटनामा भने कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech