शंखर पहाडी( गाैरब)
सर्लाहीको बागमती नगरपालिकाले विद्यार्थीहरुको शैक्षिक अवस्था सुधार्न शिक्षक शिक्षिकामा सिकाइ सीप सुधार्नुपर्छ भन्दै शिक्षकहरुलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरु गरेको छ ।बागमती नगरपालिकाको शिक्षा शाखाले नगर भित्र रहेका सामुदायिक विद्यालयहरुका शिक्षक शिक्षिकाहरूको सिकाइ सीपसँगै क्षमता विकासको तालिम सुरु गरेको नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीहरुको सिकाईमा सुधारात्मक परिवर्तन ल्याउन शिक्षक शिक्षिकाहरुमा पनि सिकाइ सीपसँगै क्षमता विकास हुनु जरुरी रहेका कारण शिक्षक शिक्षिकाहरुलाई तालिम दिन सुरु गरिएको हो ।बागमती नगरपालिका भित्र २५ वटा सामुदायिक विद्यालयहरु रहेका र ती सामुदायिक विद्यालयहरुका करिब दुई सय जना शिक्षक शिक्षिकाहरुलाई एकै पटक तालिम दिन सुरु गरिएको नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार नगर भित्रका सबै सामुदायिक विद्यालयहरुका गरी करिब दुई सय जना शिक्षक शिक्षिकाहरूलाई प्रविधिसंग जोड्दै कम्प्युटर तालिम,बालबालिकाहरुलाई हँसाउँदै खेलाउँदै पढाउनका लागि शैक्षिक सामाग्री निर्माणको तालिम र राम्रो लेखनको लागि ‘हेन्डराइटिङ’अभ्यास गराइएको छ । भने आगामि दिनमा शिक्षक शिक्षिकाहरूलाई अध्यापन सीप विकासमा समेत जोड्ने नगर शिक्षा शाखाले तयारी गरेको छ ।

यसरी विभिन्न चरणका तालिमहरुमा सहभागी हुनु भएका शिक्षक शिक्षिकाहरुले आ–आफ्नो विद्यालयमा प्रशिक्षकको रूपमा काम गर्ने नगर शिक्षा शाखा प्रमुख उपाध्यायले बताए । उनका अनुसार नगरपालिकाले शैक्षिक सुधारको लागि प्रशिक्षक परिचालन गरेर शिक्षक शिक्षिकाहरूलाई तालिम प्रदान गरिरहेको छ ।नगरले मन्टेश्वरी शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयहरूमा पठनपाठन गराइरहेको र नगरको सामुदायिक शिक्षाको गुणस्तर सुधारमा कुनै कसर बाँकी नराख्ने नगर प्रमुख भरत कुमार थापाले बताए । उनका अनुसार बालबालिकामैत्री पठनपाठनको अवधारण अनुसार बागमती नगरपालिकाका सामुदायिक विद्यालयहरु अगाडि बढि सकेका छन् ।
बागमती नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैक्षिक विकासमा निकै चासो राखेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताए । उनका अनुसार बागमती नगरपालिका भित्र रहेका २५ वटा सामुदायिक विद्यालयहरुले विद्यालयको वार्षिक पात्रो नै तयार गरेर नियमित परीक्षादेखि बालबालिकाका लागि अतिरिक्त क्रियाकलापमा समेत सहभागी गराउँदै आएका छन् ।
वृहतर राष्ट्रिय शिक्षा अभियानका अभियन्ता अभिषेक घिमिरेलाई नगरपालिकाले नगरका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि भन्दै प्रशिक्षकको रूपमा गत वर्षदेखि नगरपालिकामा खटिरहेको नगरपालिका शिक्षा शाखाका संयोजक राजकुमार विश्वकर्माले बताए । उनका अनुसार सामुदायिक विद्यालयहरुको नतिजा तथा शिक्षाको गुणस्तर सुधारमा विद्यार्थीहरु तथा अभिभावकहरु मात्र दक्ष भएर नपुग्ने भन्दै शिक्षकहरुलाई नै दक्ष बनाउन घिमिरेलाई नगरपालिकाले परिचालन गरेको हो ।