मधेशका तीन जिल्लाका सिमानाकामा एसएसबीद्वारा कडाई,परिचय पत्र र दुतावासकाे सिफारिस अनिवार्य

एसपि गौरव    प्रकाशित: २०८०-४-१७ गते   ५२६ पटक हेरिएको

मधेश प्रदेशका तीन जिल्लाका सिमानाकाहरुमा  भारतीय सुरक्षाकर्मीहरुले परिचयपत्र अनिवार्य गर्नुका साथै नेपाली सवारीसाधनहरुलाई आवत जावतमा कडा निगरानी गरेका छन् । सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र लिएर हिँड्नुपर्ने साथै सवारीसाधनहरुकाे हकमा दुतावासबाट सिफारिस लिएर मात्रै आवत जावत गर्न दिने गरेकाे जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।

उनका अनुसार नेपाल-भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले ओहोरदोहोर गर्ने नेपाली र भारतीयहरुलाई अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात लिएर हिड्न र नेपाली सवारीसाधनहरुकाे हकमा दुतावासबाट सिफारिस लिएर मात्रै हिड्न आग्रह गरेका छन् । पहिलाजस्तो बिना परिचयपत्र सहजै भारत आवत जावत गर्न अहिले भारतीय सुरक्षाकर्मीले रोक लगाएको प्रमुख जिल्ला अधिकारी यादवले बताए  ।

पछिल्लो समय भारतीय संचारमाध्यममा चर्चामा रहेकी पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत प्रवेश गरेर विहार हुँदै उत्तरप्रदेशको नोएडा पुगेपछि मधेश प्रदेशका तीन जिल्लाहरुका सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) ले नाकामा कडाइ गर्दै नागरिकहरुको परिचय पत्र अनिवार्य र सवारीसाधनहरुकाे हकमा दुतावासकाे सिफारिस अनिवार्य गरेकाे महाेतरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताए  ।
उनका अनुसार पाकिस्तानी नागरिक हैदर मे १३ मा काठमाडौंबाट महोत्तरीको भिठामोड हुँदै सहज रुपमा भारत प्रवेश गरेपछि अहिले भारतीय अधिकारीहरुले हैदरको बारेमा गहन छानबिन गरिरहेका र सिमानाकाे सहज प्रयाेगबाट याे समस्या आएकाे भन्दै सिमामा कडा निगरानी गरेका हुन। विभिन्न देशका नागरिक नेपालको बाटो हुँदै भारत जान थालेपछि सीमामा भारतीय सुरक्षाकर्मीले केही कडाइ गर्न थालेका राैतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।यता,सिमानाकामा कडाई गरेपछि नेपाल तर्फपनि गैर कानुनी कार्य घट्ने साथै अपराधिक गतिविधिहरुमा कमी आउने सुरक्षामा अधिकारीहरुकाे भनाइ छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech