३४ वटा मर्ज गरिएका प्रहरी कार्यालयहरु मध्य ६ वटा प्रहरी चौकी अझै खाली

335 Shares

“जेन जी”को आन्दोलनका कारण एक साताअघि विस्थापित भएका सर्लाहीका ३४ वटा मध्य छ वटा प्रहरी चौकीमा अझै प्रहरी फर्किन सकेका छैनन्।प्रहरी कर्मचारी नै असुरक्षित भएपछि भदौ २३ र २४ गते जिल्लाका एक दर्जन प्रहरी चौकीका प्रहरीलाई नजिकको इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सारिएको थियो ।
जस अनुसार प्रहरी चौकी कबिलासी, ब्रम्हपुरी,कौडेना,नारायणपुर,औरही र मलंगवा स्थित पेट्रोल पम्पमा रहेको अस्थायी प्रहरी चौकी अझै पनि खाली रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार आन्दोलन चर्किएपछि असुरक्षाका कारण उठाइएका तर प्रहरी चौकीमा कुनै क्षति नभएका अस्थायी प्रहरी चौकी घारिबथान,परवानीपुर,सोल्टी,राजघाट,फूलजोर,हजरिया, मधुवनगोठ,संग्रामपुरलगायतका अस्थायी एवम स्थायी प्रहरी चौकीहरुमा भने प्रहरी फर्किसकेका छन् ।
प्रदर्शनकारीले आगजनी तथा तोडफोड गरेर कार्यालयमा क्षति पु¥याएकाले यि छवटा प्रहरी चौकीमा तत्काल प्रहरी पठाउन सम्भव नभएको उनले बताए।विस्थापित भएका प्रहरी चौकीमा अहिले जनप्रतिनिधि र स्थानीयको सहयोेगमा मर्मतको काम गर्न सुरु गरिएको छ ।
जिल्ला सुरक्षा समितिका पदाधिकारीले अनुगमन गर्न जाँदा स्थानीयले तत्काल प्रहरी फर्काइदिन माग गरे अनुसार खाली गरिएका प्रहरी चौकीहरुमा धमाधम प्रहरी फिर्ता पठाउन थालिएको जिल्ला सुरक्षा समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताए ।जिल्लाका विभिन्न स्थानमा रहेका ३४ वटा प्रहरी कार्यालयहरु “जेन जी”को आन्दोलनका कारण असुरक्षित रहेका कारण माथिल्लो कार्यालयमा मर्ज गरिएको थियो ।
इलाका प्रहरी कार्यालय कौडेना,प्रहरी चौकी बहादुरपुर,प्रहरी चौकी भाडसर,प्रहरी चौकी खुटौना र अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्प,अर्नाहा,छन्कीटोला,मधुवनीगाउ,सिसौट,खैर्वा र बहुअर्वा, बाराउधोरण, मधुवनीगोठ, गोडैता, सुन्दरपुर, औरही, नाढीमन, मुर्तिया ,मानपुर,हजारिया, राजघाट,सोल्टी,हरकठवा,कबिलासी,संग्रामपुर,हरिपुर्वा,नारायणपुर,घुर्कौली,जिरायत,फुलजोर,कालिन्जोरका साथै पत्थरकोट र परवानिपुर मर्ज भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
देशभर कै सबै भन्दा धेरै २० वटा पालिका रहेको सर्लाहीमा करिब ७५ वटा प्रहरी युनिटहरु रहेका थिए ।५१ किलो मिटर नेपाल भारत खुल्ला सीमा रहेको सर्लाहीका सीमा क्षेत्रमा रहेका केही प्रहरी युनिटहरु विस्थापित हुँदा उत्त क्षेत्रबाट तस्करहरुले तस्करी मौलाएका छन् ।चाडपर्वको मुखैमा भएको आन्दोलनका कारण सुरक्षा खतरालाई समीक्षा गर्दै  ३४ वटा प्रहरी युनिटहरु मर्ज गरिँदा तस्करहरुलाई तस्करी गर्न सजिलो भएको छ।जसका कारण सीमाक्षेत्रबाट व्यापक तस्करी सुरु भएको पाइएको छ । 

सम्बन्धित समाचार