संघीय राजधानी काठमाण्डौँमा प्रहरीले रातमा घर–घरमा पसेर “सर्च अपरेशन”चलाएको छ। जेन जीको प्रदर्शन हिंसात्मक बनेपछि उत्पन्न तनावका बीच सोमबार राति कफ्र्यु जारी रहेकै अवस्थामा सुरक्षाकर्मीहरूले बानेश्वर र आसपासका क्षेत्रका घरहरूमा प्रवेश गरी प्रदर्शनमा संलग्न भएको आशंकामा दर्जनौं युवालाई पक्राउ गरेका छन्।
दंगा नियन्त्रण प्रहरीको टोली आवासीय भवनहरूमा प्रवेश गरिरहेको स्रोतको दाबी छ ।कफ्र्युको समयमा भएको यो अप्रत्याशित धरपकडले संघीय राजधानीका स्थानीयमा त्रासको वातावरण सिर्जना गरेको छ।प्रहरीले भिडियो फुटेज र अन्य प्रमाणका आधारमा शंकास्पद व्यक्तिहरूको खोजी गरिरहेको जनाएको छ।
यता,प्रहरीले बिना वारेन्ट घरभित्र पसेर जथाभावी धरपकड गरेको र युवाहरूलाई सोधपुछका लागि भन्दै नियन्त्रणमा लिएको स्थानीय बासिहरूले गुनासो गरेका छन्। रातमा प्रहरी घरको ढोका ढकढक्याउन आएपछि सर्वसाधारण आतंकित बनेका छन्।सोमबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर यो समाचार तयार पर्दा सम्म १९ जनाको ज्यान गएको छ भने करिब चार सय जना घाईते भएका छन् ।सरकारले स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यु आदेश जारी गरेको थियो।यता गृह मन्त्री रमेश लेखकले राजिनामा दिएका छन् ।