सर्लाहीको हरिवन नगरपालिका ११ स्थित चापिनी नदी किनारमा निर्माण सुरु भएको औद्योगिक ग्राम अहिले सिसौ घारी बनेको छ । निर्माणाधिन अवस्था मै अलपत्र परेको औद्योगिक ग्राममा अहिले सिसौले ठाकिसकेको छ । तथापी पनि सरोकारवाला निकाय हरिवन नगरपालिकालाई कुनै चासौ छैन ।
अघिल्लो कार्यकालका जनप्रतिनिधिहरुले निर्माण सुरु गरेको औद्योगिक ग्रामको निर्माण कार्य विभिन्न बाहनामा अलपत्र मात्रै परेको छैन् । सिसौ घारी नै भएको छ भने त्यही सिसौ घारीलाई सौर्य बत्ती बालिएको छ ।
हरिवन नगरपालिका ११ स्थित चापिनी नदी किनारमा खेर गएको नदीको बगरमा औद्योगिक ग्राम स्थापना गर्ने भन्दै नदी उकास गरेर औद्योगिक ग्राम निर्माण सुरु गरिएको भएपनि राजनैतिक आग्रह पुर्वाग्रहका वरिपरी कम्पाण्डवाल मात्र लगायर औद्योगिक ग्रामको निर्माण कार्य अलपत्र छाडिएको स्थानीयले बताएका छन् । औद्योगिक ग्राम बनाउने बाहनामा जग्गा बिक्रि वितरण गर्न खोजिएको भन्दै विवाद भएपछि रोकिएको निर्माण कार्य पुन सुचारु हुन नसक्दा औद्योगिक ग्राम निर्माणस्थलमा राखिएका सौर्य बत्ती अहिले सिसौ घारीका लागि राखिएका झैँ भएका छन् ।
हरिवन नगरपालिका ११ स्थित चापिनी नदी किनारको बगरलाई नगरपालिकाले मधेश प्रदेशकै पहिलो औद्योगीक ग्रामको रुपमा निर्माणको काम सुरु गरेको भएपनि काम विचैमा रोकिएको थियो । तर पछि पुन कामक सुरु हुन नसकेको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेष मेहबुब रेजाले बताए। उनका अनुसार औद्योगिक ग्राम निर्माणको लागि आवश्यक संरचनाहरु बनाउने भन्ने विषयमा प्रक्रिया अगाडि बढि रहेको थियो तर जग्गा खरिद बिक्रि हुन थाल्ने भनेर त्यतिबेला विवाद भएपछि निर्माण कार्य रोकिएकोमा हाल सो कार्य सुचारु हुन सकेको छैन् ।
स्थानीय उत्पादनमुखी उद्योगहरुका साथै व्यापार–व्यावसाय गर्न एउटै छानामुनि औद्योगिक ग्राम बनाउने र स्थानीयलाई रोजगारी सिर्जना गर्नुको साथै आन्तरिक आयस्रोतलाई बढावा दिन औद्योगीक ग्राम निर्माण सुरु गरिएको भएपनि औद्योगिक ग्राम निर्माणको काम विभिन्न बाहनामा अलपत्र परेको छ । औद्योगिक ग्रामको काम सकिएको र अव कार्यविधि बनाएर ठेक्का लगाउने हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बताएपनि औद्योगिक ग्रामको काम आधापनि नभएको स्थानीय जानकारहरु बताउँछन् ।
हरिवन नगरपालिका–११ स्थित चापिनी नदीले कटान गरेको जमिनमा औद्योगिक ग्राम बनाउन नगरपालिकाले सो जमिन भाडामा दिने र स्थानीय उत्पादन बाहेकका कुनै पनि व्यापार व्यावसाय गर्न नपाउने गरी २९ वर्षका लागि व्यापारीहरुलाई सो जमिन भाडामा लगाउने सहमती भएको थियो । संघीय सरकारले लिएको नीति एक स्थानीय तह एक औद्योगिक ग्राम अन्र्तगत संघिय सरकारबाट प्राप्त भएको रु एक करोडले जग्गा अतिक्रमण तथा पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको हरिवन नगरपालिकाले जनाएको छ । करिब आठ बिगाह क्षेत्रफल रहेको सो जमिन ऐलानी जमिन हो ।तर औद्योगिक ग्राम निर्माण गर्ने भन्दै नदी उकास जमिनलाई व्यावस्थापन गर्न तटबन्ध र वरिपरी कम्पाण्डवाल मात्र लगाउने काम भएको छ भने निर्माण स्थल सिसौ घारीमा परिणत भएको छ ।