सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका शिक्षक तथा कर्मचारीहरु तत्कालीन नेकपा(माओवादी केन्द्र)हालको नेपाली कम्युनिष्ट पार्टी(नेकपा)को सदस्य रहेको रहस्य फेला परेको छ ।कमलामाई मिडिया प्रा.लिलाई प्राप्त भएको विवरण अनुसार हरिहरपुरगढी गाउँपालिका–१ मा कार्यरत शिक्षक तथा कर्मचारीहरुले पार्टीको सदस्यता लिएका छन् भने अन्य वडाबाट समेत सदस्यता लिनेहरूको विवरण प्राप्त भएको हो।जनकल्याण नि.मा.वि.,गुर्जीडाँडाका शिक्षक सुकराम घिसिङ र टेकबहादुर घिसिङ तथा मा.वि.कर्मिडाँडा चिसापानीका शिक्षक अभिनाश भोलनले नेकपाको सदस्यता लिएका रहस्य फेला परेको हो ।
त्यस्तै,चिसापानी स्वास्थ्य इकाइमा कार्यालय सहयोगी कोपिला कुमारी भोलन, हरिहरपुरगढी गाउँपालिका–१ को कार्यालय सहयोगी सन्तराम घिसिङ र हरिहरपुरगढी गाउँपालिका कार्यालयमा कार्यरत गाउँ प्रहरी जवान निलबहादुर वि.क.ले समेत सदस्यता कार्ड प्राप्त गरेका पायएको छ ।
यता,पार्टीको सदस्यता लिएको विषयमा जिज्ञासा राख्दा गाउँ प्रहरी जवान वि.क. र कार्यालय सहयोगी कोपिलाले आफूहरूले सदस्यता लिएको स्वीकार गरेका छन्।हरिहरपुरगढी गाउँपालिका–१ को कार्यालय सहयोगी सन्तराम घिसिङले भने केही वर्षअघि आफू सदस्य रहेको भए पनि अहिले सदस्यता नलिएको र यसबारे आफूलाई थाहा नभएको बताए।साथै,जनकल्याण नि.मा.वि.का शिक्षक सुकरामले आफूले नागरिकता दिएको भए पनि पार्टीको सदस्य बनेको विषयमा आफूलाई जानकारी नभएको बताए।
लगातार दुई पटक स्थानीय तहको निर्वाचन जितेको तत्कालीन माओवादी केन्द्र हालको नेकपाको सदस्यता लिनुपर्ने बाध्यता रहेको समेत गुनासाहरु प्राप्त भएका छन् । स्रोतका अनुसार सुरुमा जागिर खान माओवादीकै झण्डा बोक्नुपर्ने र जागिर खाएपछि आफूले चाहेको ठाउँमा सरुवा हुनसमेत पार्टीको सदस्यता देखाउनुपर्ने अवस्था रहेको छ।
शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलका कुनै पनि सभा,सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन तथा दलको सदस्यता नलिन सरकारले पटक–पटक परिपत्र गरे पनि त्यसको प्रभाव स्थानीय तहमा देखिन सकेको छैन्।सरकारी परिपत्र हुँदाहुँदै पनि स्थानीय तहमा राजनीतिक दलको आडमा शिक्षक तथा कर्मचारीहरुको मनोमानी पनि बढेको पाइएको छ ।
केही दिनअघि सिन्धुलीमा शिक्षक तथा कर्मचारी नेपाली कांग्रेसको वडा अधिवेशनमा पुगेको विषयमा समेत शिक्षा विकास तथा समन्वय ईकाइ सिन्धुलीले कारबाहीका लागि स्थानीय तहलाई पत्राचार गरेको थियो।हरिहरगढीमा भने शिक्षक तथा कर्मचारीहरुले धमाधम राजनीतिक दलको सदस्यता लिएर सार्वजनिक गरिरहेको विषयले अब उनीहरूमाथि कस्तो कारबाही हुन्छ भन्ने चासोको विषय बनेको छ।तर यी कर्मचारीहरुले यही असारमा सदस्यता लिएका कार्डहरुमा स्पष्ट छ ।