सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७९/०८० मा करिब रु दुई अर्बको तरकारी निकासी गरेको छ । कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले आर्थिक वर्ष २०७९/०८० मा रु एक अर्ब ९१ करोड ८६ लाख ४७ हजार सात सय ५० को तरकारी निकासी गरेको समितिका अध्यक्ष तोरण बहादुर मगरले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका–७ मा रहेको समितिले वि सं २०७९ साउन १ देखि २०८० असार मसान्तसम्ममा चार करोड ११ लाख ७६ हजार दुई सय ७३ किलो तरकारी निकासी गर्दा रु एक अर्ब ९१ करोड ८६ लाख ४७ हजार सात सय ५० रकम संकलन गरेको हो ।
आर्थिक वर्ष २०७९/०८० को साउनमा ५५ लाख ९१ हजार किलो तरकारी निकासी गर्दा रु २० करोड दुई लाख एक हजार सात सय ५०,भदौमा ४२ लाख ९२ हजार छ सय किलो तरकारी निकासी गर्दा रु १८ करोड ८५ लाख ५२ हजार पाँच सय,असोजमा २५ लाख ६१ हजार आठ सय ७३ किलो तरकारीको रु २७ करोड ८८ लाख ८३ हजार एक सय २५,कार्तिकमा १५ लाख ३३ हजार नौ सय किलो तरकारी निकासी गर्दा रु नौ करोड ६३ लाख ७८ हजार दुई सय ५०,मंसिरमा २५ लाख ९७ हजार चार सय किलो तरकारीको रु सात करोड १० लाख ६८ हजार चार सय ५०,पुषमा ३७ लाख २७ हजार दुई सय किलो तरकारीको रु १७ करोड १५ लाख ८८ हजार तीन सय ५०,माघमा ६१ लाख ८६ हजार आठ सय ५० किलो तरकारी निकासी गर्दा रु २० करोड ९४ लाख ३७ हजार छ सय ५०,फागुनमा २९ लाख ८६ हजार एक सय किलो तरकारी निकासी गर्दा रु नानै करोड ६३ लाख दुई हजार छ सय ५० र चैत्रमा ३६ लाख ५४ हजार छ सय किलो तरकारी निकासी गर्दा रु २० करोड १२ लाख आठ सय ५० बराबरको तरकारी निकासी गरिएको समितिका व्यावस्थापक शम्भु प्रसाद घिमिरेले जानकारी दिए ।
उनका अनुसार बैशाखमा २७ लाख ५३ हजार चार सय किलो तरकारी निकासी गर्दा रु १४ करोड ४५ लाख ७३ हजार पाँच सय,जेठमा २५ लाख २३ हजार एक सय ५० किलो तरकारी निकासी गर्दा रु १२ करोड ६० लाख ४४ हजार दुइृ सय २५ र असारमा २७ लाख ६८ हजार दुई सय किलो तरकारी निकासी गर्दा १३ करोड ४५ लाख १६ हजार चार सय ५० रकम संकलन भएको हो ।
जिल्लाको लालबन्दी,हरिवन,हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानहरुले उत्पादन गरेका गोलभेँडा,परबल,बोडी,सिमी,भन्टा,करेलालगायतका तरकारी लालबन्दीको बजारमा संकलन भएर देशका विभिन्न शहरहरुमा निकासी हुने गरेका समितिले जनाएको छ । कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीमा संकलन भएको तरकारी काठमाण्डौँ,पोखरा,बुटबल,भैरहवा,नारायणघाट,नेपालगञ्ज,हेटौँडा,वीरगन्ज,गौर,जनकपुर,बिराटनगर,मार्डर,लाहान,इटहरीका साथै सिन्धुली रामेछाप र दोलखा जाने गरेका समितिका व्यावस्थापक घिमिरेले बताए ।
लालबन्दीबाट टमाटर,भन्टा,बोडी,लौका,करेला,काँक्रो,फुलकोभी,बन्दा कोभी,घिरौंला,सिमी,झिङ्गनी,मूला,हरियो खुर्सानी,बेथुको साग, गाजर,भिन्डी,परबल,रूख कटहर,वल,फर्सी,धनियाँको पात,कागती,उदुवा,मटरकोसा,प्याज र भेँडेखुर्सानी गरी चार करोड ११ लाख ७६ हजार दुई सय ७३ किलो तरकारी निकासी गर्दा रु एक अर्ब ९१ करोड ८७ लाख ४७ हजार सात सय ५० रकम सङ्कलन भएको कृषि थोक बजार व्यवस्थापन समितिले जनाएको छ ।
त्यसमध्ये सबैभन्दा धेरै टमाटर ५० प्रतिशत,परवल २५ प्रतिशत,बोडी १० प्रतिशत,सिमी १० प्रतिशत र अन्य तरारीहरु ५ प्रतिशत लालबन्दीबाट निकासी भएको समितिले जनाएको छ । देशभरका ठुला ११ कृषि बजारहरु मध्य लालबन्दी बजार पनि एक हो ।