Close This

१३ जना संक्रमित फेला परेपछि गोडैता नगरपालिका अनिश्चीतकालका लागि सिल

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-९ गते   ४६८ पटक हेरिएको

सर्लाहीको गोडैता नगरपालिकामा १३ जना कोरोना संक्रमित बिरामीको पुष्टि भएपछि नगरपालिकालाई शिल गरिएको छ । नगरमा १३ जनामा कोभिड–१९ पोजेटिभ देखिएपछि कोरोनाको जोखिमबाट नगरवासीलाई बचाउन वडा नं. १ देखि १२ सम्मलाई नै शिल गरिएको गोडैता नगरपालिकाले जनाएको छ ।
एक सुचना जारी गर्दै औषधी पसल बाहेक अन्य सबै पसलहरु तथा बितिय संस्था, गैर सरकारी संस्थाहरु, नगरपालिकाको अति आवश्यक सेवा बाहेक नगरपालिकाको अर्को सूचना जारी नभएसम्मको लागि पूर्ण रुपमा बन्द गरी शिल गरिएको नगरपालिकाले जनाएको हो ।

यसैगरी जिल्लामा शुक्रवार पुष्टि भएका १५ जना कोरोना संक्रमित मध्ये १४ जनालाई प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ । १५ जना संक्रमित मध्ये रामनगर गाउँपालिका बहुअर्र्वाका एक जना र गोडैता नगरपालिकाका १४ जना मध्ये नगरपालिकाले पुष्टि गरेको १३ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनु भयो ।
गोडैता नगरपालिकाका १३ जना र एक जना रामनगरको गरी जम्मा १४ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको गोडैता नगरपालिकाका नगर प्रमुख देवेन्द्र रायले पनि बताउनु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्ति अनुसार गोडैतामा नै १४ जना संक्रमित पुष्टि भएको लेखिए पनि १ जना नगरपालिका भरीमै कतै नभेटिएको नगर प्रमुख रायले बताउनु भयो ।कोरोना संक्रमित व्यक्तिहरु सबै छिमेकी देश भारतमा रोजगारीको सिलसिलामा गएको र फर्किएको बुझिएको छ ।
केहि दिन पहिला गोडैता नगरपालिकामा रहेको बेणीभोला माविको क्वारेन्टाइनमा रहेका गोडैताका ८१ जना जनाको स्वाब पिसिआर प्रविधिमा परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौ पठाइएको मध्येबाट शुक्रवार ५६ जनाको रिपोर्ट आएको र २५ जनाको रिपोर्ट आउन बाँकी रहेको नगरपालिकाले जनाएको छ ।५६ जनामै १३ जना कोरोना संक्रमित भेटिएको नगर प्रमुख  रायले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech