सर्लाहीको लालबन्दी नगरपालिका–१ मा सर्पपालनका लागि खरिद गरिएको करिब १० बिघा जमिन वेवारिसे बनेको छ ।सर्पपालनका लागि राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्ले खरिद गरेको जमित वेवारिसे बनेको हो ।
नेकपा (एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नं १ बाट चुनाव लड्दा आउँदा चुनावी प्रचारका क्रममा यहाँ सर्पपालनको प्रतिबद्धता जनाउनु भएको थियो । चुनावी प्रचार प्रसारको क्रममा लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा सर्पदंशबाट एक बालकको मृत्यु भएपछि खनालले सोही समयमा प्रतिष्ठान स्थापना गर्ने घोषणा गर्नु भएको थियो । सर्पको टोकाइबाट घाइते बालकले समयमै भ्याक्सिन नपाउँदा मृत्यु भएको थियो। त्यसैले नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल सुरु गर्नका लागि प्रतिष्ठान स्थापना गरी सर्पपालन सुरु गर्ने घोषणा भयो ।
एन्टिस्नेक भेनम उत्पादन आफैंमा महत्वपूर्ण भए पनि आफ्नै नाममा प्रतिष्ठान स्थापना गरेका भन्दै खनालको आलोचना भएपछि झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम परिवर्तन गरि राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् राखिएको छ ।
प्रतिष्ठानको नामको विषयलाई लिएर विवाद सृजना भएपछि करिब रु १९ करोड खर्च हुँदा पनि प्रतिष्ठानले मूर्तरुप लिन सकेको छैन।यति ठूलो रकम खर्च भइसक्दा पनि सर्पपालन कहिलेदेखि सुरु हुन्छ भन्ने एकिन त भौतिक संरचना निर्माणको काम पनि हुन सकेको छैन।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रतिष्ठानलाई रु ७२ करोड दिने सम्झौता भएको थियो। व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणको विरोधसँगै गर्न दातृ निकायले पनि नरुचाएको राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्का अध्यक्ष रेवती पन्तले बताए ।
तथापी पनि अस्पताल निर्माणपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको उहाँको भनाई छ।‘भारतको सेरम इन्स्टिच्युटसँग भेनम बनाइदिने समझदारी भएको छ भने सर्पपालनका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएका छन्,।’राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्का अध्यक्ष पन्तले बताए ।
तर संस्था स्थापना भएको करिब १० वर्ष हुँनै लाग्दा पनि विभिन्न कारणले न्यूनतम संरचनासमेत निर्माण हुन सकेको छैन। हालसम्म सरकारबाट प्राप्त भएको रकम डीपीआर,जग्गा खरिद, अध्ययन अनुसन्धानमै खर्च भएको राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् अध्यक्ष पन्तको भनाइ छ।लालबन्दी नगरपालिका–१ मा रु सात करोड खर्चेर परिषद्ले जग्गा खरिद गरेको छ। नन्देश्वर महादेव सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको करिब १० बिघा जमिन अहिले वेवारिसे बनेको छ ।
‘कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले करिब १० बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका छौं’त्यसमा संरचनाको सुरुवात भएको छ ।, राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्का अध्यक्ष पन्तले बताए । तर‘जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइएको भएपनि त्यो अपूरो छ।’
कूल २२ वटा भवन बनाउने योजना भए पनि चार वटा भवन निर्माण गर्न रु ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन।शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो।‘कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा छ करोड खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएको कारण हामीले रोकेका छौं’,राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्का अध्यक्ष पन्तले बताए ।
परिषद्ले अस्पताल,प्रयोगशाला,प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ। एन्टिभेनम उत्पादन,परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ। तर,बजेट अभावले काम अघि बढ्न नसकेको राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद्का अध्यक्ष पन्तको भनाई छ ।
प्रतिष्ठानको गुरुयोजनामा रु तीन अर्ब भन्दा बढीको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ। एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले रु ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको परिषद्ले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ मा केन्द्रले रु छ करोड बजेट पठाएको तर प्रदेश सरकारले सहमती अनुसारको बजेट हाल सम्म पनि नपठाएको परिषद्ले जनाएको छ । लालबन्दी नगरपालिकाले पनि वार्षिक रु एक करोड दिने सम्झौता भए पनि सम्झौता अनुसारको पाँच करोड भुक्तानी नभएको परिषद्का कार्यक्रम निर्देशक उमेश बरालले बताए ।
उनका अनुसार हाल परिषद्मा हाल चार जना कर्मचारी छन् । उनीहरुको तलबमा मासिक रु एक लाख ५० हजार भन्दा खर्च भई रहेको छ । कार्यालयको भाडा मासिक रु ५० हजार छ तर विगत करिब एक वर्षदेखि काम परिषद् काम विहिन भएको छ ।विज्ञकै परामर्शमा सर्पपाल्नका लागि चाहिने भूगोल र वातावरण सुहाउँदो जग्गा खरिद गरिएको परिषद्को दाबी छ ।परिषद्का अनुसार सर्लाही,महोत्तरी,चितवन,नवलपरासी,बाँके र झापा लगायतका जिल्ला वातावरणीय हिसाबले सर्पपालन उपयुक्त स्थान रहेका विज्ञहरुको भनाई छ ।