सर्लाहीको कर्णाली लालबन्दी नगरपालिका १४ नारायण खोललाई संघियता,स्थानीय सरकार र गाउँ गाउँको सिंहदरबारको कुनै आभाश भएको छैन् । जिल्ला कै ‘दुर्गम’ भनेर चिनिने नारायण खोला क्षेत्रमा सामान्य पानी पर्ना साथ सडक अवरुद्ध हुन्छ । सवारी साधनको आवतजावत ठप्प हुन्छ ।
सामान्य पानी पर्दापनि सडक अवरुद्ध हुँदा बिरामी पर्दा झोलुङ्गोमा बोकेर अस्पताल सम्म लैजानु पर्ने स्थानीयको बाध्यता आजपनि उस्ते छ । लालबन्दी नगरपालिका १४ क्षेत्रमा पर्ने बस्तीहरुमा धुले सकड सञ्जाल पुगेको भएपनि सामान्य पानी पर्ना साथ सडक अवरुद्ध हुन्छ ।आफ्नै स्थानीय सरकारको केन्द्र सम्म पुग्न समेत ज्यान कै बाजी राखेर हिड्नु पर्ने बाध्यता रहन्छ । लालबन्दी नगरपालिका १४ नारायण खोलामा धुले सडक पुगेपनि वर्षा लाग्नासाथ लखनदेही नदीमा आउने बाढीका कारण सबै प्रकारका सम्पर्कहरु टुट्ने गरेका छन् ।
जसका कारण बिरामी पर्दा होस वा अन्य अपठ्याराहरुमा ज्यानको बाजी नै लगाएर भएपनि गर्भवती तथा अन्य बिरामीलाई झोलुङ्गोमा हालेर पत्थरकोटसम्म पुर्याउनु पर्ने बाध्यता रहेको स्थानीय सुवाई सिं ब्लोनले बताए ।उनका अनुसार पत्थरकोटबाट टेप्पु,एम्बुलेन्स तथा अन्य सवारी साधनहरुमा राखेर बिरामीलाई अस्पताल सम्म पु–याउने गरिएको छ ।
यो वर्ष गर्भवती र अन्य बिरामी गरी १० जनाभन्दा बढीलाई झोलुङ्गोमा हालेर नारायण खोलाबाट पत्थरकोटसम्म ल्याएको स्थानीय कपिल तामाङले बताए । उनका अनुसार वर्षायाम सुरु भएपछि हरेक वर्ष नारायण खोला क्षेत्रमा यही हालत हुन्छ ।
वर्षायामभर कोही गर्भवती तथा बिरामीहरुलाई अस्पतालसम्म पु¥याउनु पर्दा असाध्यै मुस्किल हुने गरेको नारायण खोलाकी स्थानीय आइतीमाया पाख्रिनले गुनासो गरिन ।“खोलामा बाढी आएको बेला पैदल हिँड्न त सकिँदैन्,बिरामीलाई झोलुङ्गोमा बोकेर लानु पर्दा झन् असाध्यै समस्या हुने”उनले बताइन् ।“सामान्य अवस्थाका बिरामीहरु तथा गर्भवतीहरुलाई घरमै उपचार गर्ने तथा सुत्केरी गराउँछौँ, घरमा हुन नसकेका मात्रै झोलुङ्गोमा हालेर लालबन्दी वा अन्यत्र लैजाने गरेका छौँ ।”अर्का स्थानीय सुनिल बलले बताए ।
उनका अनुसार नारायण खोलाका स्थानीय बासिन्दा बिरामी पर्दा अहिले पनि झारफुक र धामीझाँव्रmीको भरमा पर्ने गरेका छन् । गम्भीर बिरामी परेका व्यक्ति तथा गर्भवतीहरुलाई मात्रै झोलुङ्गोमा हालेरै भएपनि अस्पताल लैजाने गरिएको उहाँको भनाई छ । नारायण खोलामा नत सुविधायुक्त स्वास्थ्य संस्था नै छ नत दक्ष चिकित्सकहरु नै छन् । बिरामी बोक्नका लागि स्थानीय सरकारले स्ट्रेचर समेत उपलब्ध नगराएको स्थानीयको गुनासो छ ।स्टे«चर नहुँदा बिरामी बोक्नका लागि काठमा तन्ना बाँधेर झोलुङ्गो बनाउने गरिएको स्थानीयवासी विमल तामाङले बताए । नारायण खोला क्षेत्रमा अरू समयमा खोलाको बगरबाट मोटरसाइकल दौडिने गरे पनि बाढी आउन थालेपछि ट्याक्टर समेत चल्न सक्दैन् ।अत्यावश्यक काम परेकाहरू बाढीमै हेलिएर पत्थरकोटसम्म आएर टेम्पु तथा अन्य सवारीमा लालबन्दी बजार झर्नु पर्ने नारायण खोलाबासीको कुनै नयाँ पीडा होइन् ।
निरन्तरको वर्षाका कारण नारायण खोलामा आएको बाढीले गर्दा स्थानीयको जनजीवन अत्यन्त कष्टकर बनेको लालबन्दी नगरपालिका १४ का वडाध्यक्ष छेनामसिंह घिसिङले बताए । विगत एक सातादेखि निरन्तर बाढी आइरहँदा स्थानीय बासिन्दा औषधी उपचार तथा दैनिक आवश्यक पर्ने खाद्यान्न खरिद गर्न बजारसम्म आउन नपाएको उनको भनाई छ ।
“बाढी कम भएको बेला ट्याक्टर चल्थ्यो,एक सातादेखि ठुलो बाढी आएकाले ट्याक्टर पनि आउजाउ गर्न सकेको छैन्,पानी धेरै पर्ने याममा स्थानीय बासिन्दाको दैनिकी निकै पीडादायक हुन्छ ।”वडाध्यक्ष घिसिङले बताए ।
नारायण खोला सिन्धुलीसँग सीमा जोडिएको नारायण खोलाबाट पत्थरकोटसम्म पैदल हिँडेर आउँदा करिब चार घण्टा लाग्ने गरेको र खोलाको बाटो भएर आउनु पर्दा ज्यान जोखिममा पर्ने गरेको स्थानीयको भनाई छ । गाउँमा इमेल इन्टरनेटसहितको सुविधा नरहेको भन्दै लालबन्दी नगपालिका १४ को वडा कार्यालय लालबन्दीमै राखिएको वडा अध्यक्ष घिसिङले बताए ।
सर्लाहीको कर्णाली भनेर चिनीने लालबन्दी नगरपालिका १४ नारायण खोलाका आर्थिक रूपमा केही सक्षम रहेका मानिसहरु बसाइँ सरेर पत्थरकोट,लालबन्दीलगायत चुरेफेदीका गाउँमा झरे पनि पारिवारिक स्थिति कमजोर रहेका मानिसहरु गाउँमै कष्टकर ढङ्गले जीवनयापन गरिरहेका छन् ।गाउँ गाउँको सिंहदरबार लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरु नारायण खोलाको कष्टकर ढङ्गले जीवनयापन प्रति बेखरबर छन् ।