सर्लाहीमा अनुचित लेनदेन(मिटर ब्याज) सम्बन्धी उजुरीका ६५ जना आरोपितहरु फरार सूचीमा परेका छन् ।छलफलका लागि सम्पर्कमा नआएपछि मिटरब्याज आरोपितहरु ६५ जनालाई फरार सूचिमा राखिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार जिल्लामा रहेका २० मध्य १७ पालिकाबाट दुई सय ८६ वटा उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका थिए ।जसमध्ये एक सय ६७ उजुरी छलफलबाटै फर्छ्यौट भएका छन् ।
कानूनले तोकेको मूल धनको १० प्रतिशत ब्याज दिएर अधिकांश उजुरी मिलापत्र गराइएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार पीडित र पीडक दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफलको माध्यामबाट उजुरी फर्छ्यौट गरिएको हो ।
छलफलमा बोलाउँदा उपस्थित नहुने ६५ जना आरोपितलाई कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीले चेतावनी दिएको छ । सो बमोजिम फरार सूचिमा रहेका ६५ जनालाई आरोपितलाई कारबाही हुने छ ।
पटक पटक छलफलका लागि बोलाउँदा नआउने ६५ जना मिटर ब्याज आरोपितहरूलाई पक्राउ गर्न प्रहरीलाई पत्राचार समेत भइसकेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।कार्यालयका अनुसार दर्ता भएका र छलफलमा बोलाएर आएका ३५ वटा उजुरी फर्छ्यौट गर्न बाँकी रहेका छन् । उजुरी परेका मध्ये मिटरब्याजीका १९ आरोपीमाथि सम्पत्ति शुद्धीकरणमा मुद्दा चलेको छ । मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकाले छलफल नगराइएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ ।