सर्लाहीको गोडैता नगरपालिका २, जयपुरस्थित रहेको जनता आधारभूत विद्यालयमा उत्पन्न विवाद तत्काललाई साम्य भएको छ।विद्यालयका प्रधानाध्यापक गर्भु महतोको कार्यशैलीप्रति असन्तुुष्टि जनाउँदै अभिभावकहरुले वडाध्यक्ष अजय प्रसाद साहको नेतृत्वमा पुस ३ गतेदेखि प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका थिए।प्रधानाध्यापक महतोको कार्यकक्षमा अभिभावकले लगाएको ताला आईतबार खोलिएको शिक्षा विकास तथा समन्वय ईकाई मलंगवा सर्लाहीका प्रतिनिधि सुनिल कुशवाहाले जानकारी दिए ।
उनका अनुसार अभिभावकसहित अन्य सरोकारवालाको भेलाबाट प्रधानाध्यापक महतोको कार्यकक्षमा गरिएको तालाबन्दी खोल्ने र पुस १९ गते प्रधानाध्यापकसहितको उपस्थितिमा फेरि अर्को बृहत अभिभावक भेला गर्ने निर्णय गर्दै विद्यालयमा उत्पन्न विवादलाई तत्काल साम्य पारिएको हो ।
पुस १९ गतेको बैठकमा प्रधानाध्यापक महतोले आफू सच्चिएर अघि बढ्ने प्रतिवद्धता जनाउने र यदि कार्यशैली नबद्ल्ने हो भने विद्यालयबाट अन्यत्र सरुवाको प्रक्रिया अघि बढाउने सहमती गराई असन्तुुष्ट अभिभावकलाई सम्झाउने काम गरिएको शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका प्रतिनिधि कुशवाहाले बताए ।तर आईतरबारको भेलामा प्रधानाध्यापक महतोको उपस्थिति थिएन् ।