सर्लाहीको मलंगवामा सर्वपक्षीय सद्भाव र्याली निकालीएको छ । भाद्र २२ गते शुक्रवार साँझ कृष्ण जन्माष्टमीको मुर्ती विसर्जन गरेर फर्किने क्रममा हिन्दू समुदाय र मुस्लिम समुदाय विच विवाद भएपछि अशान्त बनेको मलंगवा नगरपालिका कफ्यु जारी समेत गरिएको थियो । त्यसपछि आइतवार दिउँसो तेस्रोपटक जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बैठक बसेर सामाजिक तथा सामुदायिक सद्भाव कायम राख्ने सहमती भएपछि सर्वपक्षीय सद्भाव र्याली निकालीएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा बसेको सर्वदलीय,सर्वपक्षीय समन्वय बैठकले नगरमा धार्मिक,जातीय,साँस्कृतिक सद्भाव कायम राख्न सर्वपक्षीय सद्भाव र्यालीको आयोजना गर्ने,सबै क्षेत्रका अगुवाले आ–आफ्नो समुदायलाई संयमता अपनाउन पहल र अनुरोध गर्ने,संयमता नअपनाई आपराधिक क्रियाकलापमा कोही संलग्न हुन गएमा कानुनी कारबाहीको लागि सबै पक्षले सहयोग गर्ने लगायतका निर्णय भएका वैठकका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
भाद्र २२,२३ र २४ गतेको घटनालाई व्यवस्थापन गर्न सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरि आजको दिनदेखि १५ दिन भित्रमा घटना सम्बन्धि सम्पुर्ण सत्यतथ्य सहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने र सोही प्रतिवेदनको आधारमा कानुनी प्रक्रिया अगाडी बढाउने विषयमा पनि सहमती भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
बैठक पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीको प्राङ्गणबाट सबै समुदायका अगुवा तथा स्थानीय बुद्धिजीवीहरुले धार्मिक सद्भाव कायम गर,हिन्दु मुस्लिम एकता जिन्दावाद लगायतका नाराहरु लगाउँदै सर्वपक्षीय सद्भाव र्याली निकालेर मलंगवा नगर क्षेत्रको परिक्रमा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार भदौ २२ गतेदेखि अशान्त बनेको मलंगवा अहिले सामान्य अवस्थामा आएको छ ।