बागमतीका सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै परिवारसंग रमाउँदै

943 Shares

 सर्लाहीको बागमतीका सामुदायिक विद्यालयमा‘पढ्दै कमाउँदै कार्यक्रम’बाट मासिक करिब आठ हजारसम्म विद्यार्थीहरुले कमाउन थालेका छन् । जिल्लाको बागमती नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्यायनरत विद्यार्थीहरुले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत सुरु भएको ‘पढ्दै कमाउँदै कार्यक्रम’बाट मासिक रु पाँच हजार देखि आठ हजार सम्म कमाउन थालेका बागमती नगरपालिका ८ स्थित रहेको नवजन जागरण माविका प्रधानाध्यापक बद्री प्रसाद पोख्रेलले जानकारी दिए ।
उनका अनुसार विद्यालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत सुरु भएको ‘पढ्दै कमाउँदै कार्यक्रम’अन्र्तगत कुखुरा पालन,खसी,पाडा,गाई,भैँसी पालन र तरकारी उत्पादनमा विद्यालयमा प्राविधिक तथा गैर प्राविधिक तर्फका १५ जना विद्यार्थीहरु सहभागी भएका छन् ।
सामुदायिक विद्यालयहरुमा पारिवारीक आर्थिक अवस्था कमजोर रहेका अभिभावकहरुले आफ्ना छोरी छोरी पढाउने र विद्यार्थीहरुलाई कापि कलम तथा विद्यालय पोशाक किन्न समेत समस्या पर्ने गरेको भएपनि विद्यार्थीहरुले ‘पढ्दै कमाउँदै कार्यक्रम’बाट विद्यालयमा लाग्ने आफ्नो खर्च धानेका कारण अभिभावकहरुलाई निकै राहत भएको बागमती नगरपालिकाको शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानाकारी दिए । उनका अनुसार बागमती नगरपालिका ८ स्थित रहेको नवजन जागरण माविले विगत करिब तीन वर्ष पहिला देखि नै ‘पढ्दै कमाउँदै कार्यक्रम’सुरु गरेको र बाँकी रहेका अरु सामुदायिक विद्यालयहरुमा पनि ‘पढ्दै कमाउँदै कार्यक्रम’ सुरु गर्ने तयारी भई रहेको छ ।
विद्यालयमा अध्यायनको समयको अलावा विद्यार्थीहरु ‘पढ्दै कमाउँदै कार्यक्रम’मा सहभागी हुँदा व्यस्त रहने भएकाले समाजमा हुने गरेका विकृति विसंगतीहरुमा विद्यार्थीहरु लाग्न नपाउने तथा पारिवारीक सहयोग पनि हुने बागमती नगरपालिकाको शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए । उनका अनुसार किशोरावस्थाका किशोरकिशोरीहरु सार्वजनिक विदाको दिन तथा फुर्सदको समयमा विभिन्न किसिमका विकृति विसंगतीहरुमा लाग्ने समयलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’मा दिँदा अभिभावकहरुलाई पनि आर्थिक राहत मिलेको छ ।
विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’लागू भएसँगै नवजन जागरणमा अध्ययन गर्ने विद्यार्थी घरमा बाहेक विद्यालयमा समेत कृषि तथा पशु पालन कार्यमा व्यस्त रहन थालेका विद्यालय प्रशासनले जनाएको छ । ‘पहिले घरबाट खर्चको जोहो मिलाउन कठिन थियो। अहिले त विद्यालयमा ‘पढ्दै कमाउँदै कार्यक्रम’मा सहभागी भएर आफैँ कमाउने र पढ्ने गरेको छु।’‘पढ्दै कमाउँदै कार्यक्रम’मा सहभागी हुनु भएकी विद्यार्थी सलिना मगरले बताइन् ।
‘पढ्दै कमाउँदै कार्यक्रम’मा सहभागी भएसँगै कापी कलम किन्ने,खाजा खर्चदेखि अन्य व्यक्तिगत खर्चका साथै विद्यालय पोशाकका लागि परिवारसँग हारगुहार गर्नु नपरेको अर्काे विद्यार्थी पुर्ण प्रसाद उप्रेतीले बताए ।अब केही समयपछि आफू कृषि कर्ममा लागेर कमाउन सक्ने उनले भने ।‘पढाइसँगै काम अनुसार मासिक रु पाँच हजारदेखि आठ हजार सम्म कमाउने गरेको छु।कापि,कलम, विद्यालय पोशाकका साथै खाजा खर्च पुगेको कार्यक्रममा सहभागी निशान्त बुढाथोकीले बताए ।
कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरी विद्यालयले खसि,बाख्रा,कुखुरा,भैंँसी,राँगा र गाई पालनका साथै तरकारी खेतीका लागि समूह विभाजन गरी काम गरिएको प्रधानाध्यापक पोख्रेलले बताए । उनका अनुसार सुरुमा विद्यालयले भौतिक संरचना निर्माण गरी साँवा लगानी गरिदिने गरेको र पछि साँवा विद्यार्थीहरुले विद्यालयलाई फिर्ता गर्नु पर्ने छ भने नाफा विद्यार्थीहरुको नै हुने छ ।
विपन्न वर्गका विद्यार्थीहरुका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ अत्यन्तै प्रभावकारी रहेको र यसले निरन्तरता पाउनु पर्ने शिक्षाविद्ध एवम मधेश प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहले बताए । बागमतीको नवजन जागरण माविमा सञ्चालन भएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ नगरका अरु विद्यालयहरुमा पनि सञ्चालन हुनु पर्ने प्रदेश सभा सदस्य कुशवाहले बताए ।

सम्बन्धित समाचार