सर्लाही अदालतद्धारा तीन हजार भन्दा बढी मुद्धाहरु फछ्यौट

एसपि गौरव    प्रकाशित: २०८०-५-२७ गते   ४६६ पटक हेरिएको

सर्लाही जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/०८० मा तीन हजार भन्दा बढी मुद्धाहरु फछ्यौट गरेको छ ।सर्लाही जिल्ला अदालतले गत आर्थिक वर्ष २०७९/०८० मा तीन हजार दुई सय ८६ वटा मुद्धाहरु फछ्यौट गरेको अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार तीन सय ६० मुद्धाहरु जिम्मेवारी सरेर आएका थियो भने आर्थिक वर्ष २०७९/०८० मा तीन हजार एक सय ७१ वटा नयाँ मुद्दाहरु दर्ता भएका छन् ।
 अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी कुल पाँच हजार पाँच सय ३१ वटा मुद्धाहरुमध्ये गएको आर्थिक वर्षमा ५९ दशमलव ४१ प्रतिशत अर्थात् तीन हजार दुई सय ८६ वटा मुद्धाहरुको किनारा लागेको अदालतले जनाएको छ ।फछ्यौट हुन बाँकी दुई हजार दुई सय ४५ वटा मुद्धाहरु चालू आर्थिक वर्ष २०८०/०८१ मा जिम्मेवारी सरेर आएको सर्लाही जिल्ला अदालतका श्रेस्तेदार अधिकारीले जानकारी दिए ।
जिम्मेवारी सरेर आएका अर्थात् गत आर्थिक वर्षमा फछ्यौट हुन बाँकी रहेका दुई हजार दुई सय ४५ वटा मुद्धाहरुमध्ये एक हजार एक सय २७ वटा मुद्धाहरु छ महिनाभित्र दर्ताभएका,चार सय ३७ वटा मुद्धाहरु छ महिनादेखि एक वर्षको अवधिमा दर्ता भएका,दुई सय ९८ वटा मुद्धाहरु एक वर्षदेखि १८ महिनाभित्रदर्ता भएका,दुई सय २३ वटा मुद्धाहरु १८ महिनादेखि दुई वर्षभित्रका र एक सय ६० वटा मुद्धाहरु दुई वर्ष नाघिसकेका अदालत स्रोतले जनाएको छ । 
सर्लाही जिल्ला अदालतका श्रेस्तेदार अधिकारीका अनुसार देवानी प्रकृतिका लेनदेन,अंश बण्डा र सम्वन्धविच्छेदलगायत मुद्धाहरु तुलनात्मक रुपमा धेरै दर्ता हुने गरेका छन् ।सर्लाही जिल्ला अदालतमा अहिले छ जना न्यायाधीश कार्यरत रहनु भएको छ ।कोही न्यायाधीश बिदामा बसेको समय बाहेक छ वटै इजालाश नियमित सञ्चालन हुने गरेको छ ।कार्यालयमा अधिकृतस्तरका कर्मचारीको अभाव भएका कारण नियमित कार्य सम्पादनमा निकै समस्या पर्दै आइरहेको श्रेस्तेदार अधिकारीले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech