सर्लाही प्रहरीद्धारा ठुलो परिमाणमा कपडा बरामद्

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-३० गते   ६४० पटक हेरिएको

सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ स्थित कामदबाट प्रहरीले ठुलो मात्रामा भन्सार छलीको कपडा बरामद् गरेको छ । नेपाल भारत सिमा क्षेत्रबाट भन्सार छली लुकाई छिपाई बयलवास तर्फ ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी टोलीले एउटा भारतिय नम्बरको टाटा सुमो सहित ठुलो मात्रामा भन्सार छलीको कपडा बरामद् गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।


उनका अनुसार विआर ०६ पिए १५२५ नम्बरको टाटा सुमोमा लुकाई छिपाई कपडा नेपाल तर्फ भन्सार छली ल्याँउदै गरेको विशेष सूचनाको आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले नियन्त्रणमा लिएको हो । टाटा सुमो सहित नियन्त्रणमा लिएको कपडा ठूलो मात्रामा रहेको र गणना भई रहेको भएपनि प्रहरी स्रोतका अनुसार कपडा करिब रु १२ लाख र सुमोको करिब रु ३ लाख ५० हजार गरी करिब १५ लाख ५० हजार बराबरको रहेको आशंका गरिएको छ ।
विशेष स्रोतका अनुसार हर्दी खोला पुल नजिक महोतरीको क्षेत्रबाट सानो सानो परिमाणमा निकालेर हुलाकी सडक हुँदै हरिपुर्वाको बसतपुरमा ल्याई त्यहाँबाट पुर्वी धनकौल हुँदै पिपरा,नाडी,गैर हुँदै बरहथवा तर्फ सो कपडा जाने गरेको पाइएको छ । स्रोतका अनुसार भारतिय व्यापारी उमेश शर्माले सो कपडा नेपाल ल्याइ दिने र बरहथवाका व्यापारीहरुले बरहथवा सम्म पुर्याउने गरेका छन् ।
तर प्रहरी विशेष स्रोतका अनुसार पर्सा बोर्डरबाट नेपाल प्रवेश गरेको आशंका गरिएको छ । कुन सिमानाबाट सो कपडा नेपाल तर्फ प्रवेश गरेको र कुन व्यापारीको कपडा हो भन्ने विषयमा अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।सो कपडा महोतरीको सिमानाबाट नेपाल प्रवेश गरेको भएपनि चन्द्रनगर गाउँपालिका ६ कामद् सम्म आई पुग्दा समेत सो बाटोमा पर्ने प्रहरी कार्यालयहरु तथा सुरक्षाकर्मीहरु माथीपनि आवश्यक अनुसन्धान गर्नुपर्ने स्थानीय जानकारहरु बताउँछन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech