सर्लाही सदरमुकाम मलंगवाविगत केहीदिन देखि निकै अशान्त हुँदै गएको छ ।हिन्दु र मुस्लिम समुदाय वीचको विवादलाई लिएर जिल्ला सदरमुकाम मलंगवा अशान्त बन्दै गएको हो ।जसका कारण मलंगवाका केही स्थानीय आत्मा रक्षाका लागि आफ्नो घर छाडेर अन्यन्त्र आफन्तकोमा शरण लिन पुगेका स्थानीय अग्रजहरुले जानकारी दिएका छन् ।विश्वकर्माको मुर्ती सेलाउने विषयबाट सुरु भएको दुई समुह विचको विवाद गणेश मुर्ती सेलाउने विषयमा पुगेर थप उग्र भएपछि अहिले सो क्षेत्रमा कफ्र्यु जारी गर्नुका साथै सेना परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।उनका अनुसार पटक पटक विवाद भएपछि मलंगवा क्षेत्रमा कडा कर्फ्यु जारी राखिएको छ । कडाईका साथ कर्फ्यु लगाएर सेना परिचालन गरिएको भएपनि दंङ्गा नियन्त्रणमा हुन सकेको छैन् ।
मलंगवा नगरपालिका ३ र ४ नम्बर वडाका विभिन्न स्थानमा तोडफोड र आगजनीका घटनाहरु हुन थालेपछि हिँसात्मक गतिविधि रोक्न र अप्रिय घटनाहरु हुन नदिन भन्दै सेना परिचालन गरिएको भएपनि अवस्थमा सुधार नभएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मलंगवा नगरपालिका ३ र ४ का दुवै पक्षका स्थानियका घरहरुमा तोडफोड भएपछि थप अप्रिय घटना नहोस भनेर कडाईका साथ कफ्र्यु जारी गरिएको र सेना परिचालन गरिएको छ ।कफ्र्यु कडाईका साथ जारी गरिए पछि मलंगवा क्षेत्रमा भेला,जम्घट हुने तथा हिडडुल गर्न रोक लगाइएको छ ।समाजिक सञ्जालहरुमा यो विषयलाई लिएर अनावश्यक टिक्का टिप्पणी भएका कारण हिंसा थप भड्कीएको जानकारहरुको भनाई छ । भने समस्या समाधान गर्न दुुई पक्षकै अगुवाहरुसंग छलफल भईरहेको मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र रायले बताए ।उनले एक विज्ञप्ती समेत जारी गरि समाजिक सदभाव र भाईचारा कायम राख्न आग्रह समेत गरेका छन् ।त्यस्तै स्थानीय प्रशासनले मलंगवा नगरपालिकाको पूर्वमा झिम नदी,पश्चिमा मुसैली नहर,उत्तरमा प्रहरी चौकी र दक्षिणीमा नेपाल–भारत सीमा क्षेत्रभित्र कर्फ्यु लगाएको सर्लाहीका प्रमुख जिल्ल अधिकारी यादवले बताए । उनका अनुसार अहिले मलंगवा क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।