कविलासी ५ मा निर्माण सुरु भएको अस्पतालमा गुणस्तरहिन निर्माण सामाग्रीको प्रयोग

एसपि गौरव    प्रकाशित: २०८०-६-८ गते   ७३९ पटक हेरिएको

सर्लाहीको कविलासी नगरपालिका ५ स्थित रनियामा निर्माण सुरु भएको १५ शैयाको आधारभुत अस्पतालमा खिया लागेको रडको प्रयोग गरेको पाइएको छ ।कविलासी नगरपालिकाले २०७९ असार १३ गते मिशन–डि. एण्ड एन. जे/भि बानेश्वर–१०, काठमाडौंसंग रु २१ करोड ८६ लाख ८४ हजार नौ सय ७७ रुपैया ४९ पैसामा १५ शैयाको आधारभुत अस्पताल निर्माण गर्न सम्झौता गरेका थियो ।
२०८२ असार १५ गते भित्र तोकिएको मापदण्ड अनुसार निर्माण कार्य पुरा गर्ने गरी सम्झौता भई मिशन–डि. एण्ड एन. जे÷भि बानेश्वर–१०, काठमाडौँले रेडिएम कन्ट्रक्सन जनकपुरलाई निर्माणको काम पेटीमा दिएको थियो ।तर कविलासी नगरपालिकाका जनप्रतिनिधिहरु,कर्माचारीहरु र निर्माण कम्पनीको आपसी तालमेल नमिलेका कारण सम्झौता भएको लामो समयपछि अस्पताल निर्माणको काम सुरु भएको थियो ।
पछि कविलासी नगरपालिकाका जनप्रतिनिधिहरु र निर्माण कम्पनी वीच आपसी सहमती भएपछि २०८० वैशाख देखि अस्पताल निर्माणको काम सुरु भएको थियो । करिब रु ६० लाखको काम गरेको ठेकेदार कम्पनीले मोविलाईजेसनको नाममा रु ३ करोड ७१ लाख रकम निकासा समेत लिएको छ ।रु ३ करोड ७१  लाख निकासा लिएपछि ठेकेदार कम्पनीले काम छाड्दा निर्माण स्थलमा रहेका रडहरु पानीमा डुबेका कारण खिया लाग्न थाले भने पेटीमा ठेक्का लिएको रेडियम कन्ट्रक्सनले पनि भौतिक संरचना निर्माणको कामका लागि अन्य मानिसहरुलाई ठेकका दिएको भएपनि काम गरे अनुसारको भुक्तानी नपाउँदा कामदारहरु मारमा परेका छन् भने काम पुर्ण रुपमा सुचारु हुन सकेको छैन् ।
स्थानीयका अनुसार निर्माण कम्पनीले भुई ढलान गर्न रड ओछ्याएर कविलासी नगरपालिकासंग थप रकम माग गरेपनि नगरपालिकाले रकम नदिँदा निर्माण कम्पनीले काम छाड्दा भुई ढलानका लागि ओछयाइएको रड पानीमा डुब्दा खिया लाग्न थालेको छ ।त्यसपछि मिडियामा समाचारहरु प्रकाशन हुन थालेपछि कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुको ध्यानाकर्षण भयो र निर्माण कम्पनीलाई दवाव दिएपछि निर्माणको काम सुरु भएको भएपनि त्यही खिया लागेको रडमा नै ढलानको तयारी भएको स्थानीय श्री नारायण मण्डलले जानकारी दिए ।
उनका अनुसार निर्माण कम्पनी र कविलासी नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र प्रावधिक लगायतका कर्मचारीहरुलाई कमिसनको प्रलोभनमा पारेर निर्माण कम्पनीले मोविलाईजेसन वापतको रकम लिएको भएपनि सम्झौता भएको १ वर्ष ३ महिना पुग्नै लाग्दा पनि लिएको रकम बराबरको काम हुन नसकेको भन्दै स्थानीय आक्रोसित भएका छन् ।
करिब रु ६० लाख बराबरको काम भएको भएपनि सो काम गुणस्तरहीन भएको स्थानीयको भनाई छ । कविलासी नगरपालिकाले निर्माणको काम सुरु नै नगरी वर्षायाममा ठूलो रकम भुक्तानी गर्नु नै भ्रष्टाचारको पराकाष्ठ रहेको कविलासी नगरपालिकाका निवर्तमान नगरप्रमुख कौशल किशोर यादवको भनाई छ ।
निर्माण कम्पनीले कुल रकमको २० प्रतिशत मोविलाईजेसन वापत अग्रिम भुक्तानी पाउनु स्वाभाविकै भएपनि सुख्खा मौसममा नगरपालिकाले भुक्तानी नगर्नु र वर्षायामको करिब सवा महिनामा रु ३ करोड ७१ लाख भुक्तानी गर्नु नै निर्माण कम्पनी र नगरपालिकाका नगर प्रमुख,प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकको मिलेमतोमा गुणस्तरहिन काम भएको सहजै आंकलन गर्न सकिने कविलासी नगरपालिकाका निवर्तमान नगरप्रमुख यादवले बताए ।
अस्पताल भवन निर्माण कार्य सुस्त र गुणस्तरहिन भएको भन्दै स्थानीय,निवर्तमान जनप्रतिनिधिहरुका साथै विभिन्न राजनैतिक दलहरुले आपती जनाएपछि विभिन्न सञ्चार माध्यामहरुमा समाचारहरु प्रकाशन भएपछि झस्किएका कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुले नगर उप प्रमुखको नेतृत्वमा प्राविधिक टोली सहित स्थलगत अनुगमन समेत भएको छ भने नगरपालिकाले निर्माण कम्पनीलाई खुला रुपमा राखिएको डण्डी फुकाली नयाँ डण्डी लगाई ७ दिन भित्र कार्य सुचारु गर्न भन्दै चेतावनी सहित पत्राचार समेत गरेको कविलासी नगरपालिकाका नगर प्रमुख ब्रम्हदेव रायले बताए ।
हालै पालिकाद्वारा निर्माण कम्पनीलाई पत्रचार गर्दा मिशन–डि. एण्ड एन. जे भि बानेश्वर–१०, काठमाडौं कम्पनीले उक्त ठेक्कालाई जनकपुरधाम उपमहानगरपालिका वडा नं ६, धनुषामा रहेको रेडियम कन्स्ट्रक्सनलाई उक्त ठेक्का सम्पन्न गर्न पालिका प्रमुखकै विशेष पहल र मिलोमतोमा नियम विपरीत पेटि कन्ट्राक्टमा दिइएको भनी बुझिनमा आएको छ । रेडियम कन्स्ट्रक्सन आफै (घ) वर्गको निर्माण कम्पनी रहेको र कम्पनीको हैसियत भन्दा माथिको ठेक्का पेटिमा लिएका कारण काम गर्न नसकेको स्थानीय जानकारहरुको भनाई छ ।
सो विषयमा विशेष अनुसन्धान गर्दा रेडियम कन्ट्रक्सन प्रा.लिलाई बैंकले समेत कालो सुचिमा सुचिकृत गर्न लागेको भनी बुझीन आएको छ ।रेडियम कन्स्ट्रक्सनको संचालक रोशन मिश्र र दिपक साहले केही दिनदेखि निर्वाचित जनप्रतिनिधि र पालिकाको प्राविधिक टोलीकै संरक्षणमा महिनौंदेखि बेवारिसे अवस्थामा राखिएको खिया लागेको डण्डी मै सरसफाइ गरि ढलान कार्य गर्न लागि परेको विषयमा अनुसन्धान गर्दै जाँदा उक्त निर्माण कम्पनीले सिरहामा पनि हुलाकी सडकको ५ किलो मिटर सडक निर्माणको काम लिएकोमा त्यहाँपनि गुणस्तरहिन काम गरेको पाइएको छ ।
घ वर्गको निर्माण कम्पनीले आफ्नो क्षमता भन्दा बढीको काम लिने र मोविलाईजेसन वापतको रकम लिएर काम विचैमा छाड्ने गरेका कारण कविलासी नगरपालिका ५ स्थित रनियामा निर्माण सुरु भएको १५ शैयाको अस्पताल निर्माण कै चरणमा गुणस्तरहिन भएको पुष्टि हुँदा समेत कविलासी नगरपालिकाका जनप्रतिनिधिहरु,प्रमुख प्रशासकीय अधिकृत र प्राविधिक टोली मौन देखिनेले उनीहरुको संरक्षणमै गुणस्तरहिन काम भएको सर्वसाधारणहरुको आरोप छ ।
भने हालसम्म निर्माण भएको अस्पतालको भवनको काम गुणस्तरहीन निर्माण सामाग्रीहरुको प्रयोग गरि गुणस्तरहिन काम भएको भन्दै सो कार्य तुरुन्त रोकी सच्याउन निवर्तमान जनप्रतिनिधिहरुले कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुसंग माग गरेका छन् भने कविलासी नगरपालिकाका जनप्रतिनिधिहरुका साथै प्राविधिहरुले हाल प्रयोग गर्न लागिएको गुणस्तरहिन निर्माण सामाग्री हटाउन र गुणस्तरिय निर्माण सामाग्रीको प्रयोग गर्न निर्माण कम्पनीको ध्यानाकर्षण गराई सकेको बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech