सर्लाहीको रामनगर १ स्थित खैर्वामा चिताबाट युवतीको शव प्रहरीको नियन्त्रणमा,पतिसहित ३ जना पक्राउ

एसपि गौरव    प्रकाशित: २०८०-६-१० गते   २६५ पटक हेरिएको

सर्लाहीको रामनगर गाउँपालिका १ बाट जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । रामनगर गाउँपालिका १ खैर्वाका सुनिल साहकी श्रीमती अन्दाजी २१ वर्षीया मनिषा साहको शव चिताबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार बुधबार दिउँसो मनुषमारा घाटमा जलाउन ठिक्क पारेको अवस्थामा मनिषाको शव नियन्त्रणमा लिएको हो । घटना शंकास्पद देखिएपछि घाटबाटै युवतीका पतिसहित परिवारका तीन जना सदस्यलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।उनका अनुसार झाका पति सुनिल,ससुरा रामेश्वर र देवर रामबाबुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखेर आवश्यक अनुसन्धान सुरु गरिरहेको छ ।
परिवारका सदस्यहरुले छारे रोगकी बिरामी मनिषाले आत्महत्या गरेको दाबी गरेका प्रहरीले जनाएको छ ।पासो लागेर आत्महत्या गरेको जस्तो देखिएको र संकलित प्रमाणको आधारमा घटनाको अनुसन्धान भइरहेको छ प्रहरी उपरिक्षक सुवेदीले बताए ।थप विवरणपोस्टमार्टमपश्चात खुल्ने उनले बताए ।आत्महत्या गरे पनि प्रहरीलाई जानकारी र कानुनी प्रक्रिया पूरा नै नगरी शव जलाउन खोजेकाले पति सहित तीनैजनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक पंजियारले बताए ।
घाटमै प्रहरी पुगेपछि केही मलामी भागेका थिए । मनिषाको गलामा निलडाम देखिएको प्रहरीले जनाएको छ ।युवतीको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा राखिको छ । सर्लाहीकै कविलासी गाउँपालिका ३ माइती घर भएकी मनिषाको केही वर्ष पहिले परम्परागत विवाह भएको थियो ।माइती पक्षले पतिसहित परिवारका सदस्य मिलेर मनिषाको हत्या गरेका दाबी गरेका प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech