सिन्धुलीमा एक वर्षमा करिब साँढे एक सय वटा सवारी दुर्घटना हुँदा २६ जनाको ज्यान गएको छ।आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाका विभिन्न स्थानमा भएका एक सय ४६ वटा सवारी दुर्घटनामा २६ जनाले ज्यान गुमाउँदा तीन सय २३ जना घाईते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम प्रहरी निरीक्षक बाल कृष्ण प्रधानले जानकारी दिए ।
उनका अनुसार मौसम प्रतिकुल,चालकको लापरवाही,साँघुरो र घुमाउरो सडक लगायतका कारण सवारी दुर्घटना हुने गरेको पाइएको हो ।आर्थिक वर्ष २०८२÷०८३ मा नौ हजार नौ सय ४१ वटा सवारी साधनहरुलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कार्बाही गर्दा रु ९९ लाख ४६ हजार पाँच सय १६ राजस्व संकलन गरिएको कार्यालयले जनाएको छ ।
जनचेतनामुलक कार्यक्रमहरु संचालन पश्चात ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको र गत वर्षको तुलनामा यस वर्ष राजस्व समेत कम संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।कार्यालयका अनुसार गत वर्ष रु एक करोड १९ लाख ९९ हजार १७ राजस्व संकलन भएको थियो । वि.पी राजमार्ग सहित मदन भण्डारी राजमार्ग र मध्य पाहाडी लोकमार्गका साथै भित्री सडक खण्डहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुका साथै सवारी चेकजाँचलाई कडाई गरेपछि ट्राफिक नियम उल्लंघनका घटनामा कमी आएको कार्यालयले दाबी गरेको छ ।