सिन्धुलीका विभिन्न तीन पालिकाका चार वटा सामुदायिक विद्यालयका चार जना शिक्षकलाई राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीका लागि सिफारिस गरिएको छ ।शिक्षा विकास तथा समन्वय एकाइ,सिन्धुलीले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै प्रचलित कानुन अनुसार ती चार जना शिक्षकहरुलाई आवश्यक कार्बाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
जिल्लाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु प्रेम प्रसाद भट्टराई,सर्वेश्वर कोइराला,अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनालाई राजनीतिक दलका गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीका लागि सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीका प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जानकारी दिए ।
देवकोटाले जारी गरेको पत्रमा दुधौली नगरपालिका,सुनकोशी र तीनपाटन गाउँपालिकालाई सम्बन्धित शिक्षकहरुमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन भनिएको छ ।ती शिक्षकहरुले शिक्षा नियमावली,२०५९ (दशौँ संशोधनसहित)मा उल्लिखित व्यवस्था विपरीत हुने गतिविधिहरु गरेका भन्दै प्रचलित कानून अनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले अनुरोध पत्र पठाएको छ।उत्त अनुरोध पत्रमा
ती शिक्षकहरुलाई गरिएको कारबाही बारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउन समेत भनिएको छ।शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगतको शिक्षा विभागलाई पत्रको बोधार्थ समेत दिइएको छ ।राजनीतिक दलका कार्यक्रम र गतिविधिमा सक्रिय रूपमा सहभागी भएको सूचना विभिन्न माध्यामबाट प्राप्त भएको तथा अन्य माध्यमबाट प्राप्त विवरणका आधारमा ती शिक्षकहरुको राजनीतिक गतिविधिमा संलग्नता देखिएको एकाइले जनाएको छ ।
एकाइले शिक्षक तथा कर्मचारीले राजनीतिक दलका कार्यक्रमहरूमा प्रत्यक्ष रूपमा सहभागी हुनु शिक्षा नियमावली,२०५९ (दशौँ संशोधनसहित)मा उल्लेखित व्यवस्था विपरीत हुने जनाएको छ।सोही कानुनी व्यवस्थालाई आधार बनाउँदै सम्बन्धित स्थानीय तहलाई उनीहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक निर्णय लिन आग्रह गरिएको हो ।
नेपालको शिक्षा प्रणालीमा शिक्षक तथा कर्मचारीको राजनीतिक संलग्नतासम्बन्धी विषय लामो समयदेखि बहसको विषय बन्दै आएको छ।शिक्षकहरूलाई शैक्षिक जिम्मेवारीमा केन्द्रित राख्न कानुनी प्रावधानहरू कार्यान्वयनमा रहेको अवस्थामा सिन्धुलीको यो घटनापछि सम्बन्धित निकायले निगरानी र अनुशासन सम्बन्धी प्रक्रिया अघि बढाएको हो।