सर्लाहीका चार स्थानीय तहहरुले चालु आर्थिक वर्षको ३ महिना वित्नै लाग्दा पनि चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउन सकेका छैनन् । जिल्लाको हरिवन र हरिपुर्वा नगरपालिका तथा चन्द्रनगर र बसबरिया गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउन नसकेका हुन ।२० स्थानीय तह रहेको सर्लाहीका ११ नगरपालिका मध्य दुई नगरपालिका र नौ गाउँपालिका मध्य दुई गाउँपालिकाले आपसी सहमती जुटाउन नसक्दा चालु आर्थिक वर्ष २०८०÷०८१ को ३ महिना बित्नै लाग्दा पनि बजेट ल्याउन नसकेका हुन ।
जिल्लाको हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विषयमा विवाद भएपनि तालाबन्दी लागेको थियो ।जसक कारण बजेट आउन सकेन भने हरिवन नगरपालिका,चन्द्नगर गाउँपालिका र बसबरिया गाउँपालिकामा जनप्रतिनिधिहरु वीच एक आपसमा सहमती नजुट्दा चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट आउन नसकेको हो ।जसका कारण यी स्थानीय तहहरुमा काम सकिएको पुरानो भुक्तानीका साथै कर्माचारीहरुले तलब समेत खान पाएका छैनन् भने विकास निर्माणका कामहरु पुर्ण रुपमा ठप्प भएका छन् ।
प्रशासकीय अधिकृत समेत नहुँदा हरिपूर्वाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नगरसभामा पेश गर्न पाएको नपाएको हरिपुर्वा नगरपालिकाका नगर प्रमुख विनोद साह तेलीले बताए । उनका अनुसार नगर सभधा हुन नसक्दा नगरका योजनाहरू अलपत्र परेका छन् भने चालु योजनामा भुक्तानी दिन समस्या परेको छ । दशैंको मुखमा कर्मचारीले तलब पाएका छैनन् भने संघबाट गएको सामाजिक सुरक्षाभत्ता समेत वितरण हुन नसकेको नगर प्रमुख तेलीले बताए ।
चैतदेखि नै पटक–पटक प्रशासकीय अधिकृत माग्दा सिंहदरबार धाउनुपरेको भन्दै उनले जनताको काममा लाग्नुपर्ने बेलामा संघीय मन्त्रीको इच्छा अनुसार प्रमुख प्रशासकीय अधिकृत लैजाने भन्नेबारे छलफल गर्नुपर्ने विडम्बनापूर्ण अवस्था बनाइएको बताए ।यता, हरिवन नगरपालिकामा नगर प्रमुख रमेश बुढाथोकी,चन्द्रनगर गाउँपालिकामा अध्यक्ष राजकुमार महतो,बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय र अन्य जनप्रतिनिधिहरु वीचको विवादका कारण चालु आर्थिक वर्ष २०८०÷०८१ को बजेट आउन नसकेको हो ।