नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुग्यो

3.3k Shares

 नेपालमा मंगलबार थप १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।अर्घाखाँची र स्याङ्जा थप दुई नयाँ जिल्लासहित १४ जिल्लामा संक्रमण देखिएको हो ।जसमा सबैभन्दा धेरै कपिलवस्तुमा र रौतहटमा संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कपिलवस्तुमा २६, रौतहटमा २२, सुर्खेतमा १२, बाँकेमा आठ, सिरहामा पाँच, बारामा पाँच, स्याङ्जा, अर्घाखाँची, महोत्तरी र गुल्मीमा दुई/दुईजना, धनुषा, कैलाली,  अछाम र रुपन्देहीका एक/एकजनामा संक्रमण देखिएको जानकारी दिए ।

प्राप्त पछिल्लो विवरणअनुसार सप्तरीमा पनि ११ जनामा संक्रमण देखिएको छ ।योसँगै नेपालमा ४६ जिल्लाका ७८३ जनामा संक्रमण देखिएको छ ।मन्त्रालयले संक्रमणको आशंका गरी स्वास्थ्य परीक्षण गराउन जानेहरुलाई स्थायी ठेगाना र हाल बसिरहेको ठेगानासहितको विवरण स्पस्टरुपमा भर्न आग्रह गरेको छ ।

प्रवक्ता डा. देवकोटाले संक्रमितको संख्या बढ्दै गएको समयमा संक्रमितको नजिक रहेका व्यक्तिहरुको पहिचान गरी परीक्षण गर्न आवश्यक पर्ने हुँदा सही सूचना दिन आग्रह गरे ।मन्त्रालयले संक्रमितको संख्या बढिरहेको समयमा एकपटक परीक्षण गराएर ‘नेगेटिभ’ देखिएका व्यक्तिहरु र संक्रमणलाई जितेका व्यक्तिहरुले जोखिम छैन भनेर लापरबाही नगर्न आग्रह गरेको छ । जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले सावधानी अपनाउन भनेको छ ।

यस्तै, मंगलबार वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत् ४३ जना संक्रमितहरु ‘डिस्चार्ज’ भएका छन् । योसँगै १५५ जनाले कोरोनालाई जितेका छन् ।हाल देशभर ५२२ जना ‘आइसोलसन’मा उपचाररत् रहेका छन् ।देशभर ५४ हजार ४२४ जनाको ‘पीसीआर’ परीक्षण भएको छ भने ९७ हजार ९६७ जनाको ‘आरडीटी’ परीक्षण भएको छ ।

सम्बन्धित समाचार