सिन्धुलीको गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष र प्राविधिक इन्जिनियरसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले राय प्रतिक्रिया सहित आवश्यक कागजातहरु उपलब्ध गराउन पत्राचार गरेको छ ।गोलन्जोर गाउँपालिकाको कार्यालय सिन्धुलीलाई अख्तियारले पत्राचार गर्दै गोलन्जोर गाउँपालिका २ का अध्यक्ष दौलत कार्की र प्राविधिक इन्जिनियर धन बहादुर खत्रीसँग विविध कागजात उपलब्ध गराउन निर्देशन दिएको हो ।
वडाध्यक्ष कार्की तथा प्राविधिक ईन्जिनियर खत्रीको मिलेमतोमा भुकम्पले भत्काएको घरको पुनः निर्माण नै नगरी रकम निकासा गरेको भन्दै अख्तियारमा उजुरी परेको थियो ।उक्त उजुरी उपर प्रक्रिया अघि बढाउदैँ अख्तियारले वास्तविकता के हो ?राय प्रतिक्रिया सहित उजुरीमा उठान भएका मानिसहरुको नाममा कति किस्ता रकम निकासा भइसकेको छ ?विवरण सहित निजहरु छनौट भई सिफारिश भएको कागजातहरुको प्रमाणित प्रतिलिपी तथा दोश्रो तथा अन्तिम किस्ता निकासा भइसकेको भए सो सँग सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपी र निर्माण भएको घरको रंगिन फोटाहरु समेत स्पष्ट रुपमा बुझिने गरी उपलब्ध गराउन अख्तियारले आग्रह रेको छ ।माग गरिएको कागजात छुट्टाछुट्टै रुपमा पत्र प्राप्त भएको मितिले १५ दिन भित्र अख्तियारको कार्यालयमा उपलब्ध गराउन आयोगले अनुरोध गरेको छ ।
गोलन्जोर गाउँपालिका २ बस्ने यम बहादुर कार्की,पुरुष बहादुर नेपाली,मीन बहादुर नेपाली,दान बहादुर राना,देव बहादुर आलेमगर,भोज बहादुर श्रेष्ठ तथा रितिक बहादुर हमालको घरहरु २०७२ मा आएको भुकम्पमा परी क्षतिग्रस्त भई नेपाल सरकारको प्राविधिक टोलीबाट बनाउन सिफारिश भएका थिए ।सातै जना भुकम्प पीडितहरुले घर पुनःर्निमाणको लागी पहिलो किस्ताको रकम प्राप्त गरिसकेका र कुनै घर संरचनाहरु निर्माण नगरी वडा अध्यक्ष कार्कीको ठाडो निर्देशनमा दोश्रो तथा अन्तिम किस्ताको रकम निकासा गराएको हुँदा मिलेमतो गरी घर निर्माण नगरी रकम झिकी खाने व्यक्तिहरु,वडाध्यक्ष कार्की तथा प्राविधिक ईन्जिनियर समेतलाई कारवाही गरिपाँउ भनी अख्तियारमा उजुरी दर्ता भएको थियो ।
त्यसैगरी गोलन्जोर गाउँपालिकाले निकासी करमा लगाएको ठेक्कामा पनि मिलेमतोको आशंकामा उजुरी दर्ता भएको र छानविनको काम चलि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।
