सर्लाहीका उखु किसानले अनुदानको २९ करोड पाएनन्,दशैं कसरी मान्ने भन्ने किसानलाई चिन्ता

एसपि गौरव    प्रकाशित: २०८०-६-२८ गते   ३३१ पटक हेरिएको

सर्लाहीका उखु उत्पादन किसानहरुले पाउनु पर्ने रु २९ करोड भन्दा बढी अनुदान वापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् । जिल्लामा सञ्चालनमा रहेका तीन वटा चिनी उद्योगलाई ४१ लाख क्विन्टल भन्दा बढी उखु बेचेका किसानहरुले राज्यले उपलब्ध गराउनु पर्ने अनुदान वापतको प्रति क्विन्टल रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ दशमलव तीन पैसा रकम उखु बेचेको सात महिना हुँदा समेत नपाएका नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।

उनका अनुसार दशैँको मुखमा पनि उखु बेचेको अनुदान वापतको रकम नपाउँदा जिल्लाका किसानहरु निराश भएका छन् ।उखु बेचेको सात महिना हुँदा पनि राज्यले दिनुपर्ने अनुदान वापतको रकम नदिँदो जिल्लाका उखु उत्पादन किसानहरुमा दशैँ कसरी मनाउने भन्ने चिन्ता बढेको अध्यक्ष मैनालीले बताए ।जिल्लाका इन्दुशंकर चिनी उद्योग हरिवन,महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौललाई आर्थिक वर्ष २०७९/०८० मा १८ हजार दुई सय ८६ जना किसानहरुले ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखु बिक्रि गरेका थिए ।जस मध्य राज्यले दिनु पर्ने अनुदान वापतको रकम प्रति क्विन्टल रु ७० का दरले रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ दशमलव तीन पैसा रकम उखु बेचेको सात महिना हुँदा समेत नपाएको बागमती नगरपालिका ४ का किसान केदारनाथ प्रसाईले गुनासो गरे ।

जिल्लाका तीन वटा चिनी उद्योग मध्ये इन्दुशंकर चिनी उद्योग हरिवनले १० हजार छ सय ७८  किसानहरुको २८ लाख २० हजार पाँच सय ७० दशमलव १५ क्विन्टल,महालक्ष्मी चिनी उद्योग बगदहले १७ हजार ३० किसानहरुको १० लाख ९५ हजार आठ सय ९२ दशमलव ९८ क्विन्टल र अन्नपूर्ण चिनी उद्योग धनकौलले एक हजार तीन सय ७८ किसानहरुको दुई लाख ६२ हजार आठ सय ६१ दशमलव ८६ क्विन्टल गरी कुल ४१ लाख ७९ हजार तनि सय २४ दशमलव ९९क्विन्टल उखु क्रसिङ गरेका इन्दु शंकर चिनी उद्योगका क्यान मेनेजर योग नारायण रजकले बताउनु भयो ।उहाँका अनुसार तीन उद्योगहरुले क्रसिङ गरेको कुल ४१ लाख ७९ हजार तीन सय २४ दशमलव ९९ क्विन्टल उखुको राज्यले दिने अनुदान वापतको रु ७० का दरले रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ दशमलव ०३ पैसा निकासा नभएको हो ।
अहिलेसम्म अर्थ मन्त्रालयबाट उखुको अनुदान रकम प्राप्त नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीका कोष नियन्त्रक पुरुषोत्तम बरालले बताए । उनका अनुसार कार्यालयलाई रकम प्राप्त भएपछि करिब दुई साता आन्तरिक तयारी गरेपछि किसानहरुको खातामै रकम पठाउन सकिने छ ।सरकारले आर्थिक वर्ष २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल रु ६ सय १० निर्धारण गरेको र त्यसमध्ये चिनी उद्योगले प्रति क्विन्टल रु पाँच सय ४० भुक्तानी गर्ने र बाँकी प्रति क्विन्ट रु ७० सरकारले अनुदान बापत उपलब्ध गराउने सहमती भएको नेपाल उखु उत्पादन किसान महासंघका अध्यक्ष मैनालीले बताए ।
उनका अनुसार राज्यले दिनुपर्ने अनुदान वापतको रकम उखु बिक्री गरेको सात महिना भइसक्दा समेत उखु उत्पादक किसानहरुले नपाउँदा किसानहरुमा थप निराशा छाएको छ ।आफुहरुले पटक पटक अर्थ मन्त्रालयमै पुगेर ताकेता गर्दा पनि सरकारले जिल्लामा अनुदान रकम पठाउन आलटाल गर्दै आएको अध्यक्ष मैनालीले आरोप लगाए ।गत वर्ष पनि दसैँको मुखैमा उखुको अनुदान रकम निकासा भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech