आज नवरात्रको पहिलो दिन ।हरेक वर्ष झैँ यसवर्षपनि आज नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा हनुमानढोकास्थित दसैँ घरमा विधिपूर्वक जमरा राखि घटस्थापना गरिएको हो ।
विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजका दिनलाई घटस्थापना भन्ने गरिन्छ ।आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गर्नाका साथै विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने प्रचलन रहेको छ ।
दुर्गा देवीका तीनवटा रूप महाकाली,महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ ।महाकालीलाई शक्तिको,महालक्ष्मीलाई धनधान्य तथा ऐश्वर्यको र महासरस्वतीलाई विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिक परम्परा रहेको छ ।
भगवती दुर्गाले दैत्यमाथि तथा रामले रावणमाथि विजय गरेको उत्सवका रुपमा नवदुर्गाको पूजा गरिँदै आइएको जानकारहरु बताउँछन् ।जमरा छरेपछि व्यक्तिमा सुख,शान्ति प्राप्त हुने तथा रोगव्याधी भाग्ने जनविश्वास र शास्त्रीय मान्यता रहेको जानकारहरुको भनाई छ ।
राष्ट्रको कल्याण होस् जनता सुख,शान्ति र समृद्धिमा रहुन्,उन्नति प्रगति हुँदै जाओस् भन्ने हेतुले जमरा राखिने गरिएको छ ।हनुमानढोकास्थित दसैँ घरमा जमरा राखेपछि सर्वसाधारणले पनि घरघरमा घटस्थापना गर्ने परम्परा रहेको छ ।
बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो,कलश एवम गणेश स्थापनासहित चण्डी (सप्तशती) पाठ गरिन्छ ।पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।नजिकैको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लितपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्वक माटो राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीकस्वरुप पहेँलो जमरा लगाइन्छ । नवरात्रको पहिलो दिन आज शैलपुत्री भगवतीको पूजा गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी,तेस्रो दिन चन्द्रघण्टा,चौथो दिन कुष्माण्डा,पाँचौँ दिन स्कन्दमाता,छैटौँ दिन कात्यायनी,सातौँ दिन कालरात्रि,आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
आसुरी एवम राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा तथा आराधना गर्ने शास्त्रीय नियम रहेको छ ।दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिने गरिन्छ ।बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ भने यस वर्ष बढा दशैँ(टिका लगाउने)को साईत कार्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।