ईलाका प्रहरी कार्यालय हरिपुरले करिब अढाई क्विन्टल प्रतिवन्धित लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्। जिल्लाको कबिलासी नगरपालिका ९ भलुवाहाबाट दुई सय ५० किलो प्रतिवन्धित लागू औषध गाँजासहित दुई जना पक्राउ परेका छन्। शनिबार राती करिब ९ बजे कविलासी नगरपालिका ९, सलेमपुरबाट भलुवाहा हुँदै गम्हरिया तर्फ जाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हरिपुरले दुई सय ५० किलो प्रतिवन्धित लागू औषध गाँजा ज १ त ५५५१ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा झिम नदी किनारबाट कविलासी नगरपालिका १० का अन्दाजी २८ वर्षीय ट्याक्टर चालक भाग्य नारायण महतो र सोही स्थानका अन्दाजी २४ वर्षीय रवीन्द्र राय उर्फ रवि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए।
प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरू सहित गाँजा सार्वजनिक गरेको हो। बरामद गरिएको गाँजाको अन्दाजी मूल्य रु ३० लाख पर्ने प्रहरीले अनुमान गरेको छ ।सिन्धुली र ममवानपुर क्षेत्रमा उत्पादन भएको गाँजा सर्लाहीका विभिन्न सिमानाका हुँदै छिमेकी देश भारत प्रवेश गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ ।
यस पटकको यति ठुलो मात्रामा गाँजा कहाँबाट सिमानाका नजिक पुग्यो भन्ने विषयमा पुर्व पश्चिम राजमार्ग क्षेत्रमा रहेका प्रहरी युनिटहरुमाथि पनि अनुसन्धान गर्नु पर्ने जानकारहरु बताउँछन् ।पुर्व पश्चीम राजमार्ग क्षेत्रमा ईलाका प्रहरी कायाृलय केशरगन्ज,इलाका प्रहरी कार्यालय लालबन्दी र इलाका प्रहरी कार्यालय हरिवनमा प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी रहेको भएपनि पहाडी जिल्लाहरुमा उत्पादन भएको गाँजा कसरी छिमेकी देश भारतसंग पुग्यो ? के प्रहरीको मिलेमतो विना यो काम सम्भव छ ? भन्ने विषयमा सबैको चासो बढेको छ ।