मकैको मुल्य घटेपछि मकै उत्पादक किसानहरु पीडामा

2.3k Shares

जिल्लाका किसानहरुले लगाएको मकै बालीमा फौजी किराको संक्रमणले गर्दा जिल्लाका किसानहरु चिन्तीत बनेका छन । आफूले लगाएको मकैमा एकातिर फौजि किराको संक्रमण अर्कातिर हावाहुरी र असिना पानीका कारण मकै नष्ट भएपछि किसानहरु थप मारमा परको हुन ।
सबै समस्याका बीच पनि उत्पादन गरेको मकैको उचित मूल्य नपाउँदा आफुहरु थप मारमा परेको लालबन्दी नगरपालिका १७ का किसान रमेश अधिकारीले गुनासो गर्नु भयो ।  विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण जारी लक डाउनले गर्दा सवारी साधन सञ्चालनमा नआउँदा कृर्षी जन्य पदार्थको मुल्य लगातार ओरालो लाग्दा किसानहरु किसान मारमा परेका हुन् । 
गत वर्षको तुलनामा मकै उत्पादनमा लागत बढी लागेको तर मकैको बिक्रीमूल्य भने गत वर्षको भन्दा दुई गुणाभन्दा बढीले घटेपछि लागतसम्म भए पनि कसरी उठाउने भन्ने चिन्ताले किसान पिरोलिन थालेका छन् । बागमती नगरपालिका– ८ शंकरपुरका किसान भीमबहादुर कोइरालाले यस वर्ष एक हेक्टर क्षेत्रफलमा मकै लगाएका थिए । उनका अनुसार मकै उत्पादनमा मलखाद तथा फौजी किरा नियन्त्रणका लागि थप कीटनाशक औषधिसमेत प्रयोग गर्नुपर्दा उत्पादन लागत बढ्यो तर जारी लक डाउनका कारण सवारी साधन सञ्चालन नहुँदा बिक्री मुल्य घटेको हो ।
मकैमा दाना लाग्ने समयमा एकाएक मौसम बिग्रिएर हावाहुरी आएर मकैबालीमा नोक्सान पुरÞ्याएका कारण कमै उत्पादन समेत घटेको लालबन्दी नगरपालिका १३ का किसान रामविर तामांङले गुनासो गर्नु भयो । हावाहुरी र असिना पानीका साथै फौजि किराको संक्रमणका कारण मकै उत्पादन एकतिहाइले घटेको किसानहरुको गुनासो छ । चार क्विन्टलसम्म कट्ठाको मकै फल्ने खेतमा यस वर्ष ३ क्विन्टल फलेको उनले बताएका छन । 
‘बेचौँ भने मूल्य छैन, न पैसा पाउने टुंगो छ ।’ ‘घरमा राखौँ राख्ने ठाउँ छैन, यसै राखे तीन महिनामा घुनले सखाप पार्छ,’ उनले गुनासो गरे । यसभन्दा पहिला किसानले उत्पादन गरेको मकै उपयुक्त मूल्यमा व्यापारीले घरघरबाटै उठाउने गरेका थिए । जसका कारण किसानलाई गोदाम गरेर राख्नुपर्ने चिन्ता थिएन । तर, यस वर्ष भने मकै बिक्री नभएको किसानहरूले बताएका छन् । 
‘अब त मकै खेती गर्नुु भन्दा पनि जुवा खेल खेले झैँ लाग्छ,’ लालबन्दी नगरपालिका १५ का किसान राज कुमार खत्रीले बताउनु भयो । ‘कहिले आउँछ, कहिले सबै जान्छ, कुनै टुंगो छैन ।’ गत वर्ष ३५ सयदेखि चार हजार क्विन्टलका दरले मकै बेचेका उनले यसपटक १७ देखि २१ सय रुपैयाँ प्रति क्विन्टलका दरले मकै बिक्री गर्नुपरेको बताएका छन । 
जिल्लाको लालबन्दी,बागमती र बरहथवा नगर क्षेत्रमा हाइब्रिड जातको मकै उत्पादन गर्ने सयौँ किसान रहेका छन् । सरकारले अन्य केही कृषि उपजको उत्पादन लागतलाई लिएर समर्थन मूल्य तोक्ने गरेको भए पनि मकैको समर्थन मूल्यसमेत नतोकेर राज्यले किसानलाई उपेक्षा गरेको अर्का किसान जंगबहादुर महतोले गुनासो गरेका छन ।
राज्यले सामान्य समर्थन मूल्यसमेत नतोक्दा मकै खेती जुवा खेलेजस्तो बनेको उनको भनाई छ । जिल्लाका किसानले हाइब्रिड जातको मकैखेती गरी वर्षमा तीन बालीसम्म भित्र्याउने गरेका छन् । १२ हजार हेक्टर क्षेत्रफलमा ६३ हजार ६ सय मेट्रिक टनसम्म मकै उत्पादन हुने गरेकोमा पछिल्लो समयमा विभिन्न कारणले मकै उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ ।

सम्बन्धित समाचार