आगामी २१ फागुन गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ ।जिल्लाका सबै क्षेत्रमा उम्मेदवार घर दैलो अभियानमा व्यस्त देखिएका छन् ।मतदातासँग भेटघाट गर्ने,समस्या सुन्ने र समाधानको प्रतिबद्धता व्यक्त गर्ने मात्र नभई उम्मेदवारहरू नयाँ योजना र आश्वासन बाँड्दै मतदाताको मन जित्न घरदैलोमा दौडधुप गरिरहेका छन् ।विपक्षी उम्मेदवारका समर्थन र विरोधमा नेता तथा कार्यकर्ता चोक–चौतारादेखि सामाजिक सञ्जाल सम्ममा खरो रुपमा उत्रिएका छन् ।
चार वटा निर्वाचन क्षेत्र रहेको सर्लाहीमा एक सय ३१ जनाको उम्मेदवारी कायम रहेको छ। भदौ २३ र २४ गते भएको जेन–जी पुस्ताको आन्दोलनका कारण दुई वर्ष पहिल्यै हुन लागेको निर्वाचनमा नयाँ पुस्ता र नयाँ दलको चर्चा हुँदै गर्दा सर्लाहीमा पुरानैको वर्चस्व देखिएको छ । नेपाली कांग्रेस,नेकपा(एमाले),नेपाली कम्युनिस्ट पार्टी(नेकपा),राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा), जनता समाजवादी पार्टी(जसपा)नेपाल सहित लोकतान्त्रीक पार्टी(लोसपा)नै चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।यी छ दलले आफ्नो निर्वाचन क्षेत्रदेखि वडासम्म निर्वाचन परिचालन कमिटी तयार गरेर चुनावी प्रचार प्रचार तीव्र बनाएका छन् ।
नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले चारवटै क्षेत्रमा चुनाव प्रचार प्रसार अभियानलाई तीव्र बनाएको जनाएको छ ।निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन सबै निर्वाचन क्षेत्रमा संयोजक तोकेर जिम्मेवारी प्रदान गरिएको नेकपा सर्लाहीका इन्चार्ज अच्युतम प्रसाद काफ्लेले बताए ।उनका अनुसार सर्लाही क्षेत्र नम्बर १ मा उद्धव पाठक,क्षेत्र नम्बर २ मा केही समय पहिला मात्रै पार्टी प्रवेश गरेका पूर्व प्रदेश सभा सदस्य अशोक यादव,क्षेत्र नम्बर ३ मा राज कुमार यादव र क्षेत्र नम्बर ४ मा राज नारायण यादवलाई संयोजक तोकिएको छ ।
त्यसैगरी,नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा हरि लुंगेली,क्षेत्र नम्बर २ मा कौशल किशोर राय,क्षेत्र नम्बर ३ मा पुण्यप्रसाद घिमिरे र क्षेत्र नम्बर ४ मा रामआश्रय साहलाई निर्वाचन परिचालन कमिटी संयोजक बनाएको छ ।क्षेत्रीय सभापतिहरुले पालिका कमिटी र पालिकाले वडा निर्वाचन परिचालन कमिटी गठन गरेर काम गरिरहेको कांग्रेस सर्लाहीका सभापति समेत रहेका सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार डा.सरोज कुमार राय यादवले बताए ।
यता,नेकपा(एमाले)ले पनि चारवटै क्षेत्रमा निर्वाचन परिचालन समिति संयोजक तोकेर चुनावी गतिविधि सुरु गरेको छ।सर्लाही क्षेत्र नम्बर १ मा गोविन्द महत,क्षेत्र नम्बर २ मा जयप्रकाश यादव,क्षेत्र नम्बर ३ मा विदुर कुमार प्याकुरेल र क्षेत्र नम्बर ४ मा भरखरै मात्रै एमालेमा प्रवेश गरेका शिव पूजन यादव निर्वाचन परिचालन कमिटीको संयोजक तोकिएको नेकपा(एमाले) सर्लाहीका अध्यक्ष राजनारायण साहले बताए ।
साथै,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले क्षेत्र नम्बर १ मा गोविन्द ढुंगेल,क्षेत्र नम्बर २ मा शम्भु पण्डित,क्षेत्र नम्बर ३ मा रत्न प्रसाद भट्टराई र क्षेत्र नम्बर ४ मा राम विश्वास महतोलाई क्षेत्रीय कमान्डर घोषणा गरेर निर्वाचन परिचालनको जिम्मेवारी सुम्पिएको छ।सर्लाहीमा पुराना दल र उम्मेदवारको वर्चस्व देखिएको छ ।मुख्य ठुला पार्टीबाट समेत पुरानै उम्मेदवारको उम्मेदवारी छ । नयाँ दलमा समेत पुरानै अनुहार छन् । केही उम्मेदवारले क्षेत्र र केहीले पार्टी परिवर्तन गरेका छन् ।
सर्लाही क्षेत्र नम्बर १ मा ठुला दलका तर्फबाट पुरानै नेतालाई अघि सारिएको छ ।यस क्षेत्रमा १९ वटा दलसहित २८ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले निवर्तमान सांसद शम्भुलाल श्रेष्ठ,नेकपाले निवर्तमान सांसद प्रमोद साह र लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले निवर्तमान सांसद राम प्रकाश चौधरीलाई यस पटक पनि उम्मेदवार बनाएको छ । चौधरी गत निर्वाचनमा कांग्रेस,नेकपा(एकीकृत समाजवादी) र तत्कालीन नेकपा(माओवादी केन्द्र)को संयुक्त गठबन्धनबाट उम्मेदवार बन्दै निर्वाचित भएका थिए ।यसपटक उनले जनता समाजवादी पार्टी(जसपा)नेपालबाट उम्मेदवारी दिएका छन् ।नेकपा(एमाले)बाट २०७४ को स्थानीय तह निर्वाचनमा ईश्वरपुर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित मनोज कुमार देवकोटा उम्मेदवार बनेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले व्यापारी नीतिमा भण्डारी (कार्की)लाई मैदानमा उतारेको छ ।
सर्लाही क्षेत्र नम्बर २ मा यसअघिका नियमित प्रतिस्पर्धीसँगै केही नयाँ उम्मेदवार समेत मैदानमा उत्रिएका छन् ।अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा(माओवादी केन्द्र)को चुनाव चिन्ह लिएर उठि निर्वाचित भएका महिन्द्र राय यादव निर्वाचित भएका थिए। अहिले नेकपाबाट उनै राय उम्मेदवार बन्दा पहिला पनि उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतो अहिले राष्ट्रिय मुक्ती पार्टी नेपालबाट उम्मेदवार छन् ।
सर्लाही क्षेत्र नम्बर २ मा यस पटक दलका १४ सहित ३१ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रबाट नेपाली कांग्रेस सर्लाहीका सभापति डा.सरोज कुमार राय यादव,नेकपा(एमाले)बाट नागेश्वर साह,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रविन महतो सहितका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।
सर्लाही क्षेत्र नम्बर ३ मा केही पुराना र केही नयाँ अनुहार देखिएका छन् ।ठुला दलले पुरानै नेतालाई चुनावी प्रतिस्पर्धामा उतारेका छन् ।२०७९ मा यसै क्षेत्रबाट निर्वाचित भएका एमालेका हरिप्रसाद उप्रेती यसपटक पनि उम्मेदवार बनेका छन् ।नेपाली कांग्रेसबाट विनोद खनाल, नेकपाबाट पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार बनेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट नागेन्द्र साह कलवार उम्मेदवार बनेका छन् ।
सर्लाही क्षेत्र नम्बर ४ यस पटक पनि चर्चाको केन्द्रमा छ । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिएका नेपाली कांग्रेसका सभापति गगन थापाको उम्मेदवारीले सर्लाही क्षेत्र नम्बर ४ को चुनावी माहोल भिन्न बनेको हो ।यस क्षेत्रलाई हेभीवेट उम्मेदवार बिचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।कांग्रेस गढका रूपमा रहेको यस क्षेत्रमा गुमेको बिरासत फिर्ता गर्ने लक्ष्यसहित सभापति थापा चुनावी मैदानमा छन् ।पहिलो संविधानसभा निर्वाचनमा शिवपूजन राय यादव निर्वाचित यस क्षेत्रमा तीन कार्यकालदेखि डा.अमरेशकुमार सिंह सांसद बनेका छन् । २०६४ र २०७० मा कांग्रेसबाट निर्वाचित भएका सिंह २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए ।यस पटक उनी रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका छन् ।पार्टीको संगठन बाहेक यस क्षेत्रमा डा.सिंहको व्यक्तिगत वर्चस्व पनि छ ।यस क्षेत्रमा प्रभावशाली नेताको छवि बनाएका संविधानसभा सदस्य शिवपूजनले आफ्नो छोरा अमनिश कुमार यादवलाई एमालेबाट उम्मेदवार बनाएका छन् ।नेकपाले डा.रजनिश राय यादवलाई टिकट दिएपछि शिवपूजनले पार्टी परित्याग गरी छोरालाई एमालेको टिकट दिलाएका हुन् । शिवपूजन रायकी छोरी मधुमालाकुमारी यादवको स्वतन्त्र उम्मेदवारी समेत छ ।यस क्षेत्रबाट प्रभावशाली भनिएका अधिकांश पार्टीले उम्मेदवार मैदानमा उतार्दा यहाँको चुनावी माहोल निकै रोमाञ्चक बनेको हो ।