पर्साको पर्सागढी नगरपालिका ९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्न खोजेको आरोपमा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको नेपालको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी प्रमुख प्रहरी निरिक्षक रामराज केशरीले जानकारी दिए ।उनका अनुसार गत बिहीबार राति मादक पदार्थ सेवन गरी सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा च्यात्ने प्रयास गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । करिब एक साताअघि सिङ्गे पुलमा सजाइएको नेपाल राष्ट्रिय झण्डामध्ये केही झण्डा चोरी भएको स्थानीयले गुनासो गरेपछि सो क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।
गैर कानुनी गतिविधि गरेको अभियोगमा पक्राउ परेकामा पर्सागढी नगरपालिका १ मनवा टोल निवासी अंकित पटेल,सुलभ श्रेष्ठ,विश्वास चौधरी,निर्मल चौधरी,कृष्णप्रसाद पोखरेल,विराज ठाकुर, दीपु ओझैया,सागर चौधरी र सखुवा प्रसौनी गाउँपालिका १ सखुवनिय टोलका गौतम महतो,नन्दन दास थारू र लक्की चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कमल साहले जानकारी दिए । उनका अनुसार पक्राउ परेका उनीहरुमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएकोे छ ।