आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाली सेनाले सर्लाहीका पनि विभिन्न स्थानमा गस्ती सूरु गरेको छ।बुधबारदेखि जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा गस्ती टोली परिचालन भइसकेको लालबन्दी नगरपालिका–२ जुटपानी स्थित रहेको नेपाली सेनाको पाँचकुमारी व्यारेक कालिध्वज गणका गणपति एवम प्रमुख सेनानी उमेश खड्काले जानकारी दिए ।उनका अनुसार सर्लाहीको क्षेत्र नं. १ मा पाँचकुमारी गणबाट,क्षेत्र नम्बर २ मा मलंगवा स्थित रहेको सुरक्षा बेस र क्षेत्र नम्बर ३ मा बागमती स्थित रहेको सुरक्षा बेसबाट दैनिक गस्ती टोली खटिने छन् ।

त्यस्तै क्षेत्र नम्बर ४ का लागि धनकौल गाउँपालिकामा सेनानीको कमाण्डमा अस्थायी सुरक्षा बेस स्थापना गरिएको छ।चार वटा क्षेत्र रहेको सर्लाहीको क्षेत्र नम्बर ४ बाहेक क्षेत्र नम्बर १ को जुटपानी,क्षेत्र नम्बर २ को मलंगवा र क्षेत्र नम्बर ३ को बागमतीमा नेपाली सेनाको स्थायी सुरक्षा बेस रहेका छन् ।

यसअघिका निर्वाचनमा भने केहि दिनअघिबाट मात्र नेपाली सेना परिचालन हुने गरेको भएपनि यो पटक नेपाल सरकारको निर्णय अनुसार महिना दिनअघिबाटै नेपाली सेनाले निर्वाचन विशेष सुरक्षा गस्ती सुरु गरेको हो।भदौ २३ र २४ गतेको आन्दोलन र त्यस यता उत्पन्न राजनीतिक परिस्थितिलाई समिक्षा गर्दै एक महिना पहिलैबाट नेपाली सेना परिचालन सुरु गरिएको नेपाल सरकार रक्षा मन्त्रालयले जनाएको छ ।