सर्लाहीका उखु उत्पादक किसानहरुकोे उखु वेचे वापतको राज्यले दिनु पर्ने अनुदान रकम नपाउँदा छठपर्व खल्लो भएको छ ।बैङ्क तथा वित्तीय संस्थाले जिल्लाका उखु उत्पादक किसानहरुलाई दिनुपर्ने अनुदानबापतको रकम समयमै नदिँदा दशैँ तिहार तथा छठ पर्व समेत खल्लो भएको जिल्लाका उखु उत्पादक किसानहरुले गुनासो गरेका छन् ।जिल्लाका विभिन्न बैङ्क र वित्तीय संस्था तथा सहकारीको खातामा कात्तिक २३ गते नै कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले एकमुस्ट रकम पठाइ दिएको भएपनि बैङ्क र वित्तीय संस्था तथा सहकारीहरुले किसानहरुलाई सो रकम नदिँदा नेपालीहरुको मुख्य चाड दशैँ,तिहार र छठ समेत खल्लो भएको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिल मुनी मैनालीले बताए ।
उनका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले कात्तिक २३ गते जिल्लाका विभिन्न बैङ्क र वित्तीय संस्था तथा सहकारीको खातामा रकम पठाएको भएपनि कात्तिक २४ गते शुक्रबार देखि ३० गतेसम्म तिहार बिदा भएकाले बैङ्कहरु बन्द हुँदा मङ्सिर १ गते शुक्रबार बैँङ्क खुले पनि अधिकांश बैँङ्कले किसानको खातामा पैसा नपठाएका हुन ।
चाडपर्वका समयमा समेत व्यस्तताका नाममा बैङ्क खातामा पैसा हस्तान्तरण नगरिदिँदा दशैँ मात्र नभएर तिहार र छठसमेत खल्लो भएको उखु उत्पादक किसान राम विनय सिंहले बताए ।उनका अनुसार तिहारको मुखमा कोलेनिकामार्पmत दिनुपर्नेमध्ये ३० प्रतिशत रकम आएको र त्यो पनि नभ्याइएको भन्दै रकम भुक्तानी भएन् ।“केही सहकारीले रकम बाँड्न भ्याए तर बैङ्कहरूले खातामा इन्ट्री गर्न भ्याइएन भनेर पैसा दिएनन्,यो वर्ष उखु उत्पादक किसानहरुको पर्व उल्लासमय बन्न सकेन ।”स्थानीय किसान अगुवा राज कुमार उप्रेतीले बताए ।
अर्थ मन्त्रालयले तिहारअघि जिल्लामा पठाएको अपूरो रकममध्ये किसानहरुलाई बाँड्नका लागि ३० प्रतिशत मात्रै पुग्ने भएपछि तिहार अघि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको अध्यक्षतामा बैठक बसेर त्यही रकम भए पनि जिल्लाका उखु उत्पादक सबै किसानहरुलाई ३० प्रतिशतको हिसाबले खातामा पठाइदिने निर्णय गरेको थियो । कात्तिक २२ गते रातभर काम गरेर भोलिपल्टै बैङकको खातामा पैसा पठाइएको कोष तथा लेखा नियन्त्रण कार्यालय सर्लाहीका प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले बताउनु भयो ।उहाँका अनुसार गत वर्ष जिल्लाका तीन वटा चिनी मिलमा उखु बेचेका १७ हजार ३० जना उखु उत्पादक किसानहरुलाई प्रतिक्विन्टल रु ७० का दरले वितरण गर्न रु २९ करोड २५ लाख ५२ हजार सात सय ४९ रुपियाँ ३० पैसा आउनुपर्ने हो तर कोलेनिकामा रु नौ करोड ११ लाख २६ हजार छ सय ३८ रुपियाँ मात्रै आएको छ ।
कोलेनिकाले प्राप्त सबै रकम बैँङ्कको खातामा पठाइसकेको भएपनि विचमा चाडपर्व परेका कारण बैङ्कहरु बिदा भएकाले छठ बिदापछि मात्रै पैसा निकाल्न सकिने प्रमुख कोष नियन्त्रक न्यौपानेले बताए । जिल्लामा आउन बाँकी रु २० करोड १४ लाख २६ हजार एक सय ११ रुपियाँ ३० पैसाका लागि अगुवा उखु उत्पादक किसान, स्थानीय तहका जनप्रतिनिधि र संघिय सांसदले पहल जारी राख्नु भएको सर्लाही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवम संघिय सरकारका खानेपानी मन्त्री महेन्द्र राय यादवले बताए ।यो वर्ष चिनी मिल चल्नुअघि नै बाँकी अनुदान रकम पनि जिल्लामा निकासा गरिदिन माग गर्दै अर्थ तथा कृषि सचिवलाई कुरा राखेको अगुवा उखु किसान राजकुमार उप्रेतीले बताए । उनका अनुसार रकामान्तर गरेर वा अन्य कुनै विकल्प अपनाएर भए पनि उखु किसानको पूरा अनुदान रकम निकासा गरिदिन माग राखिएको छ ।