सम्बन्ध विच्छेदका घटनामा मुख्य कारण वैदेशिक रोजगारी

420 Shares

जिल्ला अदालत सर्लाहीमा दैनिक २ देखि ३ जोडी सम्बन्ध विच्छेदको मुद्दा लिएर आउने गरेका पाइएको छ ।जिल्ला अदालत सर्लाहीबाट पछिल्लो १६ महिनाको अवधिमा दुई सय २८ जोडीले सम्बन्ध विच्छेद गरिसकेका अदालतका श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा दुई सय ४१ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएका थिए। जसमध्ये एक सय ८० वटा मुद्दाको फर्छ्यौट भइसकेको छ। त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को पहिलो चार महिनामा ८२ जोडीले सम्बन्ध विच्छेदका मुद्दा  दर्ता गराएका अदालतले जनाएको छ ।जसमध्ये ३८ जोडीको अदालतले सम्बन्ध विच्छेद गराइसकेको श्रेस्तेदार अधिकारीले बताए ।
आर्थिक वर्ष २०७९/०८० देखि २०८०/०८१ को पहिलो चार महिना अर्थात साउन देखि कात्तिकसम्मको १६ महिनाको अवधीमा तीन सय २३ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भइ दुई सय २८ वटा मुद्धाको फर्छ्यौट पनि भई सकेको छ ।अदालतको तथ्यांक अनुसार बर्सेनि सम्बन्ध विच्छेदका मुद्दा बढ्दै आएका छन् । सबैभन्दा बढी महिलाहरु सम्बन्ध विच्छेदको मुद्दा लिएर अदालत आउने गरेका तथ्यांकले देखाएको छ । धेरेजसो श्रीमान विदेश गएर घर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्ध विच्छेदका लागि अदालत आउने गरेका पाइएको स्रेस्तेदार अधिकारीले बताए ।
सम्बन्ध विच्छेद हुनुको मुख्य कारण वैदेशिक रोजगारी,बेरोजगारी,घरेलु हिंसा,दाइजो,प्रेम विवाह र अन्तर जातीय विवाह रहेको पाइएको अदालतले जनाएको छ।चलिरहेको कानुनमा सम्बन्ध विच्छेदका लागि पुरुषले निवेदन दिए एक वर्ष कुर्नुपर्ने प्रावधान रहेको छ। तर,महिलाले मुद्दा हाल्नासाथ तत्काल निर्णय हुने व्यवस्था कानुनमा रहेको अदालत स्रोतले जनाएको छ। 

सम्बन्धित समाचार