बागमतीका सामुदायिक विद्यालयहरुप्रति अभिभावकहरु र विद्यार्थीहरुको आकर्षण बढ्दो

507 Shares

सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला सर्लाहीको बागमती नगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयहरुमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।बागमती नगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुले नगरका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि पछिल्लो समय बागमतीका सामुदायिक विद्यालयहरुमा अभिभावकहरु र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको हो ।
बागमती नगरपालिकाका सामुदायिक विद्यालयहरुको पूर्वाधारको विकाससँगै नेपाली र अंग्र्रेजी माध्यमबाट शिक्षण सिकाइ,शिक्षकहरुको पनि प्रयोगात्मक परिक्षा,विद्यालयहरुका लागि अतिरिक्त कक्षा र क्रियाकलापहरु सञ्चालन सुरु गरेपछि नीजि विद्यालय छोडेर सामुदायिक विद्यलायहरुमा अध्ययन गर्न आउने विद्यार्थीहरुको संख्या बढेको बागमती नगरपालिकाको शिक्षा शाखा प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनले बागमती नगरपालिकाको पहलमा वृहत राष्ट्रिय शिक्षा अभियानका अभियान्ता अभिषेक घिमिरेले नगरभित्रका सामुदायिक विद्यालयहरुको गुणस्तर सुधारमा खेलेको भुमिका अत्यन्तै प्रशंसनिय रहेको बताए ।त्यसका साथै बागमती नगरपालिका भित्र रहेका मा।विस्तरका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको समेत व्यावस्था हुनु नै अभिभावकहरु र विद्यार्थीहरुको आकर्षणको मुख्य पाटो रहेको नगर शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए । उनका अनुसार नगर भित्रका २५ वटै सामुदायिक विद्यालयहरुमा नेपाली र अंग्रेजी माध्यामबाट अध्यायन अध्यापन भईरहेको छ ।
जसमा कक्षा ५ सम्म अनिर्वाय अंग्रेजी माध्याम र कक्षा ६ देखि १२ सम्म नेपाली र अंग्रेजी दुवै माध्याममा अध्यायन अध्यापन भईरहेको नगर शिक्षा शाखाले जनाएको छ । नगर भित्र रहेका पाँच वटा माध्यामिक विद्यालयहरु मध्य तीन वटामा प्राविधिक तर्फपनि अध्यायन अध्यापन भईरहेको छ ।बागमती नगरपालिका ८ स्थित शंकरपुरमा रहेको नवजन जागरण मा।विमा पशु सेवा,बागमती नगरपालिका ५ स्थित सोल्टीमा रहेको जनता मा।विमा कृषि र बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको श्री ५ महेन्द्र मा।विमा सिभिल इन्जिनियर समेत अध्यायन अध्यापन भईरहेको बागमती नगरपालिकाको नगर शिक्षा विकास समितिका संयोजक राज कुमार वि।कले जानकारी दिए ।
उनका अनुसार नगर भित्रका सामुदायिक विद्यालयहरुमा गत शैक्षिक सत्रमा करिब सात हजार विद्यार्थी अध्यायनरत रहेकामा यस वर्ष करिब सात हजार छ सय विद्यार्थी संख्या पुगेको छ ।बागमती नगरपालिका भित्रका कुनै पनि सामुदायिक विद्यालयहरुमा भएका भौतिक संरचना भन्दा बढी विद्यार्थी हुने भएपछि भर्ना कार्यक्रम रोकेर संख्यात्मक भन्दा गुणस्तमक विकास लागेको वि।कले बताए ।
“केही वर्ष अघिसम्म अधिकांश विद्यार्थीहरु र अभिभावकहरुको रोजाइ निजी विद्यालय थियो तर स्थानीय तहको निर्वाचन २०७४ पछि यहाँका जनप्रतिनिधिहरुका साथै कर्माचारीहरुले आफ्ना छोराछोरीहरुलाई पनि सामुदायिक विद्यालयहरु मै पढाउनु पर्ने बाध्यकारी नियम ल्याइ सामुदायिक विद्यालयहरुको गुणस्तरमा अचानक सुधार भएपछि यहाँका अभिभावकहरु र विद्यार्थीहरुको रोजाई अहिले सामुदायिक विद्यालय नै भएका”बागमती नगरपालिका ८ शंकरपुर स्थित रहेको नवजन जागरण मा।विका प्रधानाध्यापक बद्री प्रसाद पोख्रेलले बताए । उनका अनुसार नीजि विद्यालयहरु कै झैँ नेपाली र अंग्रेजी दुवै माध्यामका साथै अतिरिक्तमा प्राविधिक धार सुरु भएपछि अभिभावकहरु र विद्यार्थीहरुको आकर्षण बागमतीका सामुदायिक विद्यालयहरु तर्फ बढेको हो ।
बागमतीका सामुदायिक विद्यालयहरुको भौतिक संरचनाको व्यावस्थापन,शिक्षाको गुणस्तर सुधारका साथै प्राविधिक तर्फपनि थोरै शुल्कमा अध्यायन गर्न पाउने भएपछि नगर भन्दा बाहिरका अभिभावकहरु तथा विद्यार्थीहरुको पनि आकर्षण बढेको बागमती नगरपालिका ५ स्थित सोल्टीमा रहेको जनता मा।विका प्रधानाध्यापक लोकनाथ दाहालले बताए । ।विद्यालयहरुमा विद्यार्थीहरुको चाप बढ्दै गएकाले प्रवेश परीक्षाको माध्यमबाट मात्र विद्यार्थी भर्ना लिन थालिएको बागमती नगरपालिका ११ स्थित कर्मैयामा रहेको श्री ५ महेन्द्र मा।विका प्रधानाध्यापक नवकिरण श्रेष्ठले बताए ।
“पहिला पहिला यहाँका सामुदायिक विद्यालयहरुमा विद्यार्थी पढ्नै मान्दैनथे,तर अहिले सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्नाका लागि तछाड मछाड चल्छ,नगरपालिकाले मापदण्ड बनाएको छ,सोही अनुसार विद्यार्थी भर्ना लिने गरेका छौँ।”बागमती नगरपालिका २ स्थित धरहरामा रहेको जनवाल कल्याण मा।विका प्रधानाध्यापक प्रकाश बहादुर जिम्वाले बताए । विद्यार्थी भर्ना गरिदिनु पर्यो भनेर चर्को दवाव आउँछ तर नगरपालिकाले निर्धारण गरेको मापदण्ड र विद्यालयहरुको भौतिक संरचनाका साथै संख्यात्मक भन्दा गुणात्मक विकासमा लाग्ने तयारी भएकाले भर्ना लिन सक्ने अवस्था नरहेको उनको भनाई छ ।
पछिल्लो समय सामुदायिक विद्यालयमा भएको शैक्षिक सुधारले थोरै लगानीमा गुणस्तरीय शिक्षा पाउने भएपछि अभिभावकहरुसमेत उत्साहित भएका छन् ।त्यसका साथै राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएपछि नगरका सामुदायिक विद्यालयहले पढ्दै कमाउँदै कार्यक्रम लागु गरेपछि विपन्न अभिभावकहरुलाई थप राहत पुगेको महसुस गरेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताए । उनका अनुसार प्राविधिक तर्फ पढाई हुने विद्यालयहरुले पढ्दै कमाउँदै कार्यक्रम लागु गरेपछि विद्यार्थीहरु पढाईको समय भन्दा अन्य समयमा आफ्नो विना लगानीमा केही रकम कमाउन थालेपछि कापि कलम किन्न अभिभावकहरुले पैसा खर्च गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।
स्थानीय तहमा आफू निर्वाचित भएर आएपछि सामुदायिक विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरमा सुधारका लागि अथक प्रयास गरिरहेको नगर प्रमुख थापाले बताए । उनका अनुसार विद्यलाय भवन,छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय,शुद्ध पिउने पानी,कम्प्युटर प्रयोगशाला,पुस्तकालय,विज्ञान प्रयोगशाला,कालो बोर्डलाई हटाई सेतो बोर्डको व्यवस्था,प्रविधिमैत्री र बाालमैत्री पठनपाठनको व्यवस्था गरिएको छ । नगर भित्रका सामुदायिक विद्यालयहरुको भौतिक र शैक्षिक सुधारका लागि विगत छ वर्षमा करिब रु ५० करोड लगानी गरि सकेको बागमती नगरपालिकाले जनाएको छ । बागमती नगरपालिकाका १२ वटा वडामा २५ वटा सामुदायिक विद्यालयहरु छन् भने करिब आधार दर्जन संस्थागत विद्यालयहरु सञ्चालनमा रहेका छन् ।सामुदायिक विद्यालयमा सात हजार छ सय र संस्थागत विद्यालयमा करिब तीन हजार पाँच सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

सम्बन्धित समाचार