Close This

सर्लाहीमा २ पत्रकार सहित ४३ जना संक्रमित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१६ गते   २७७ पटक हेरिएको

सर्लाहीमा सुक्रवार दुई जना पत्रकारसहित थप चार जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । स्थानिय पत्रिकामा कार्यरत ३० वर्षीया महिला पत्रकार र जिल्लाकै स्थानिय रेडियोमा कार्यरत २६ वर्षीय सञ्चारकर्मीमा कोरोना सङ्क्रमण देखिएको हो ।केही दिनअघि सदरमुकाम मलङ्गवामा पत्रकार,सञ्चारकर्मीहरु, सुरक्षाकर्मी, एम्बुलेन्स चालकसहित २९ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । तीमध्ये दुई जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले बताउनु भयो ।
यस्तै जिल्लाको कौडेना गाउँपालिकाका दुई जनामा पनि कोरोना सङ्क्रमण देखिएको छ । केही दिनअघि भारतबाट आएर क्वारेन्टाइनमा बसिरहेका २१ र १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो । उहाँका अनुसार कौडेनाबाट स्वाब पठाइएको ४५ जनामध्ये दुई जनामा सङ्क्रमण देखिएको हो ।
पीसीआर रिपोर्ट नेगेटिभ आएका ४३ जनालाई आज घर पठाइने कौडेना गाउँपालिकाका अध्यक्ष रामप्रसाद यादवले बताउनु भयो । अध्यक्ष यादवका अनुसार कौडेना गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा अहिले १ सय २५ जना भन्दा बढीलाई राखिएको छ ।शुुक्रवार थपिएका चारै जना सङ्क्रमितलाई मलङ्गवास्थित नर्सिङ्ग कलेजमा निर्माण गरिएको आइसोलेसनमा राखेर उपचार गरिने प्रमुख जिल्ला अधिकारी जिसीले बताउनु भयो । शुक्रवार चार जना थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४३ पुगेको छ । 
भारतीय सीमावर्ती क्षेत्रमा पर्ने गोडैता नगरपालिकामा मात्रै २५ जनामा सङ्क्रमण देखिएको छ । यस्तै सदरमुकाम मलङ्गवामा नौ जना, हरिवन, बाग्मती, कविलासी र हरिपूर्वा नगरपालिका तथा रामनगर गाउँपालिकामा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech