सहकारीको बचतकर्ताहरुको रकम हिनामिनामा प्रत्यक्ष संलग्न भएका भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेमाथि प्रहरीले अनुसन्धान नगरेको पाइएको छ ।प्रहरीले केही दिन पहिला बुझाएको प्रतिवेदनमा निवर्तमान गृह मन्त्री समेत भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेमाथि प्रहरीले अनुसनधान नगरेको पाइएको हो ।तत्कालिन ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक र संचालक समेत रहेका लामिछाने कै कार्यकालमा सहकारीको करोडौँ रकम टेलिभिजनमा ट्रान्सफर भएको थियो तर,उनीपछि सेयर किनेको देखिएका कुमार रम्तेल भने कारागार चलान भई सकेका भएपनि लामिछाने खुलेआम रुपमा हिडि रहेका छन् ।
जिल्ला अदालत कास्कीले २०८० भदौ २४ मा सूर्यदर्शन सहकारीका अध्यक्ष गितेन्द्र बाबु राई(जीबी)सहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यस मध्य पोखराको सुर्यदर्शन सहकारीको रु १ अर्ब ११ करोड हिनामिना प्रकरणमा सहकारीका कोषाध्यक्ष तथा ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक कुमार रम्तेल पक्राउ परि कारागार चलान भइसकेका छन् ।सहकारीका पदाधिकारीहरु कैलाश मगर,शिव बहादुर गुरुङ(महेन्द्र भोटे) र सूचना प्रविधि अफिसर भविश्वर अर्याल पनि जेल चलान भई सकेका छन् भने सहकारी बचतकर्ताको रु १६ अर्ब भन्दा बढी रकम हिनामिना गरि ठगी गरेको आरोप लागेका ग्यालेक्सी टेलिभिजनका मालिक जिबी फरार रहेका छन् ।उनी विरुद्ध प्रहरीले ईन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गर्न पत्राचार गरिसकेको छ।हालसम्म यो हिसाब रु १६ अर्ब मात्रै आएपनि उनीद्वारा संचालित विभिन्न सहकारीहरुको ठगीको रकम रु ४५ अर्बसम्म पुग्न सक्ने अनुमान छ ।
ठगीका मतियारलाई पक्राउ गरेपनि मुख्य अभियुक्तलाई पक्राउ गर्न भने प्रहरी असफल देखिएको छ ।अभियुक्तको हुलिया र तस्विर नै सामाजिक संजाल र विभिन्न माध्यम मार्फत सार्वजनिक हुँदा पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यसो त राई प्रहरीकै सेटिङमा अदालतमा हाजिर हुने तरखरमा रहेका समेत बुझिएको छ । यसरी नै सेटिङ मिलाएर शिव बहादुर गुरुङ(महेन्द्र भोटे) पनि कास्की जिल्ला अदालतमा हाजिर भई कारागार चलान भएका हुन ।
राई अध्यक्ष र लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा साहारा चितवन सहकारीबाट समेत रु ११ करोड ७१ लाख लगानी भएको खुलेको छ ।धितो नै नराखी निकालिएको करिब रु १२ करोड जीबी र रविले फिर्ता नगरेको प्रमाण पनि बाहिरिन थालेको छ ।अहिले सञ्चालक नै फरार भएपछि करिब आठ हजार सर्वसाधारण करिब एक वर्षदेखि संघर्षमा रहेका छन् ।यतिबेला सर्वसाधारणको बिचल्ली बनाएर राई फरार छन् भने बचतकर्ताले आवाज उठाउँदा पनि रवि मौन देखिएका छन् ।
को हुन् जीबी ?
फरार जिबी कुनै समय सबै भन्दा ठूलो नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेस्नल कम्पनीका एक साझेदार थिए ।सो कम्पनीमा रहँदै गर्दा उनले २०६६ सालमा गोर्खा ग्रुप अफ कम्पनी खोलेका थिए । सरकारले नेटवर्किङ व्यवसायमा २०६८ मा प्रतिबन्ध लगाएपछि नेपालमा हर्बो कम्पनी बन्द गरी त्यही नेटवर्कलाई प्रयोग गरेर जिबीले देशभर करिब एक दर्जन सहकारी सञ्चालनमा ल्याए ।उनले तिनै सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम दुरुपयोग गरी नेचर हर्बल्स, नेचर नेस्ट लगायतको नाममा नेपालसहित सात देशमा नेटवर्किङ व्यवसाय चलाइरहेका छन्।गोर्खा ग्रुप अफ कम्पनीका अध्यक्ष रम्तेलले आफ्नो समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको स्वीकार गरेका छन् ।ती सहकारीहरु मध्ये रु तीन अर्ब निक्षेप रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था,काठमाडौंको अध्यक्ष जीबी आफैं हुन् भने रम्तेल कोषाध्यक्ष हुन् ।उपत्यका बाहिर पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी,बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी,नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी,चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि यही समूहले सञ्चालन गरि रहेको छ ।
तीनवटा सहकारी संस्थामा जीबी आफैं अध्यक्ष छन् भने रम्तेल चार वटामा अध्यक्ष छन्। जवकी सहकारी ऐन,२०७४ मा एउटा व्यक्ति एक समयमा एउटा मात्रै सहकारीको सञ्चालक हुन सक्ने व्यवस्था छ तर,यो समूहले संघ,प्रदेश र स्थानीय तह फरक–फरक नियामक निकायमा सहकारी दर्ता गरेर सरकारलाई समेत झुक्याएको देखिन्छ ।नेपालभरि विभिन्न नाममा सहकारी संस्थाहरु सञ्चालनमा रहे पनि त्यसको सबै नियन्त्रण जीबीसँगै हुने गरेको रहस्य सरकारी नियामक निकायहरुकै अनुगमनको क्रममा खुलेको छ ।
कहाँ छन् मुख्य आरोपी जीबी ?
प्रहरीको थुनामा रहेका शिवबहादुर गुरुङ र भविश्वर अर्याल आफैँ अदालतमा हाजिर भएका थिए।सहकारीका कोषाध्यक्ष रम्तेललाई भने प्रहरीले पहिलो पटक २४ साउनमा पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरेको थियो ।उनीसँगै पक्राउ पुर्जी जारी भएका सहकारीका मुख्य आरोपी जीबी भने अझै फरार छन् ।उनी छ महिना अघिदेखि नै प्रहरीको फरार सूचीमा रहेका छन्।कहिले पोखरा महानगरपालिका १७ घारीपाटन,त कहिले काठमाडौंको धापासी बस्दै आएका ओखलढुंगाका जीबी अहिले भने लुकेर बसेका बताइएको छ ।स्रोतका अनुुसार जिबीले सहकारीको रकमबाट रुपन्देहीमा ४० बिघा जग्गा खरिद गरेको देखिएको छ ।त्यस्तै ललितपुर,भक्तपुर र काठमाडौंमा समेत उनले करोडौं पर्ने जग्गा खरिद गरेका खुलेको छ ।ति सबै जग्गा किनबेच नहुने गरी रोक्का गरिसकेको पोखरा प्रहरीले जनाएको छ ।
उनलाई पक्राउका लागि खोजी गरेको पोखरा प्रहरीले नभेटेपछि उनको खोजीका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई समेत पत्राचार गरिएको जनाएको छ तर जिबी अझै भेटिएका छैनन् ।जिबी नेपाल छोडेर मलेसिया भागेको आशंका गरिएको छ ।मलेशियाको क्वालालाम्पुरमा नेचर हब नामक नेटवर्किङ कम्पनिको कार्यालय छ । क्वालालाम्पुरको जलान राजा चुलानस्थित रहेको मिनेरा अलम्पिया नामक महलको २१ औँ तलामा रहेको कार्यालय मार्फत उनले नेटवर्किङको धन्दा चलाउँदै आएका छन् । सोही कार्यालयका राई थरकै केही व्यक्तिले उनलाई मलेशियामै एउटा घरमा लुकाएर राखेको स्रोत बताउँछ ।
रवि–जिवि सम्बन्ध : मलेशियामा रहस्यमयी भेट
तत्कालिन ग्यालेक्सी टेलिभिजनका प्रबन्ध निर्देशक रवि र सहकारी ठगीका अभियुक्त तथा अध्यक्ष जिबी बीचको सम्बन्ध ओपन सेक्रेट छ ।रविले यो सम्बन्धलाई ओझेलमा पार्ने कोशिस गरेपनि ठगीमा दुईबीचको नाता झनै कस्सिएको देखिन्छ ।पछिल्लो समय ठगीबारे प्रहरीले जिबी सहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको भएपछि रवि र जिविबीच मलेशियामै भेट भएको पाइएको हो ।मलेशियास्थित विशेष स्रोतले दिएको जानकारी अनुसार गत डिसेम्बर ३ मा मलेशिया यात्रामा निस्केका रविले जिबीलाई मलेशियामै भेटेका थिए।उनीहरुको भेटघाटको चाँजो पाँजो भने मलेशियास्थित जिबीकै कम्पनिमा कार्यरत केही कर्मचारीले मिलाएका थिए ।
रविलाई विमानस्थलमा लिन जाने व्यक्ति नै सहकारी ठगीका अभियुक्त जिबीले संचालन गरेको नेचर हब ईन्टरनेश्नलमा कार्यरत हेमराज सापकोटा थिए। जिबी र रविबीचको भेटमा रविले नै हाल समस्याग्रस्त बनेको ग्यालेक्सी टेलिभिजन जिम्मा लिएर संचालन गरिदिनुपर्ने प्रस्ताव जिबीले गरेको उच्च स्रोतले जनाएको छ तर,भेटघाटको चाँजोपाँजो मिलाउने व्यक्तिहरु भने यो विषयमा मुख खोल्न चाहँदैनन् ।जिबीले मलेशियामा सकेन्ड होम लिएका छन् ।मलेशियाको केएलसिसि टावरको आसपास उनले घर र गाडीसम्म जोडेको स्रोत बताउँछ ।
जिबीको नेटवर्किङ धन्दामा संलग्न अधिकांश व्यक्ति स्वतन्त्र पार्टीका कार्यकर्ता
रवि मलेशियामा पुगेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आयोजित कार्यक्रमको संचालक नै सापकोटा थिए।उनी ठगीका फरार अभियुक्त जिबी कै कम्पनिमा कार्यरत व्यक्ति हुन् । सापकोटा उनी मलेशिया एनआरएनएका उपाध्यक्ष पनि हुन् ।उनी नेचर हर्बल्सका पनि सेकेन्ड डाइरेक्टर हुन् ।रविले हालै मलेशियामा गठन गरेको प्रवासी नेपाली सम्पर्क विभागको सचिवमा पनि उनै सापकोटा छन् ।मलेशियामा ग्रिन टि र साबुन राखेर सदस्य बनाउँदै ठगी धन्दा चलाउँदै आएका सापकोटा नेपालबाट भने एउटा ठगी काण्डमा फरार भएका व्यक्ति हुन् ।
नेटवर्किङ ठगी आरोपमा नेपालबाट फरार सापकोटा
कुनै समय नेपालमा पिरामिड शैलीको ठगीधन्दा चलाएको आरोपमा हर्बो ईन्टरनेश्नल नामक कम्पनिमाथि प्रहरीले अपरेशन चलाएको थियो।शुल्क उठाउने,आकर्षक उपहार र कमिशनको प्रलोभन देखाएर पिरामिड शैलीमा ठगी गरेको आरोपमा त्यतिबेला सापकोटा र जिबि लगायतका व्यक्ति प्रहरीको खोजी सुचीमा थिए।युनिटी हर्बो जस्ता कुख्यात ठगी काण्डसँगै नेपालमा नेटवर्किङ शब्द नै चर्चामा थियो ।
नेटवर्किङ ठगी आरोपमा नेपालबाट फरार सापकोटा सचिव पदमा निर्वाचित भएको जानकारी
नेचर हर्बल्स इन्टरनेसनल प्रालि पछिल्लो दुई दशकको अवधिमा विभिन्न कम्पनीका नाममा नेटवर्किङ व्यवसाय चलाएर ठगी कार्यमा संलग्न देखिएका गिरोहबाट सञ्चालित छ भने यो कम्पनीमा हाई प्रोफाइल व्यक्तिहरुको संलग्नता पनि बढी देखिन्छ ।यसका सञ्चालक तथा सहकारी ठगीका अभियुक्त जिबि उनकै नातेदार अनन्तबाबु राई र श्रीमती निशा राई पनि यो कम्पनीको उच्च ओहोदामै छन् ।
अवैध नेटवर्किङ धन्दामा पक्राउ परेका पुष्पराज पुरुष भनिने व्यक्तिसँगै सापकोटा निर्देशकका रुपमा नेत्रपाणि बाँस्तोला,ट्रेनरका रुपमा रम्तेल र बजार विभागको जिम्मेबारी माधव खनालले हेर्छन् ।यी सबै व्यक्तिहरुको विगत हर्बो,युनिटी र गोल्डक्वेस्टसम्म जोडिन्छ।गोलक्वेस्ट ठगी प्रकरणमा पक्राउ परेका अभियुक्त पुष्पराज भनिने व्यक्तिसँगै सापकोटाको पनि नेटवर्किङ धन्दाको सम्बन्ध जोडिएको थियो । सापकोटा हर्बो ठगीका ठूला अभियुक्त हुन् ।उनै सापकोटा अहिले मलेशियास्थित राष्ट्रिय स्वतन्त्र पार्टी हर्ताकर्ता बनेका छन् ।
यी हुन् पक्राउपुर्जी जारी भएका १९ आरोपी,
१) सूर्यदर्शन सहकारीका सस्थापक अध्यक्ष– गितेन्द्र बाबु राई(फरार)
२) सहकारीका पूर्वउपाध्यक्ष– कैलाश दर्लामी (कारागार चलान)
३) सहकारीका सचिव– धिरजकुमार दास(फरार)
४) सहकारीका कोषाध्यक्ष– कुमार रम्तेल (कारागार चलान)
५) सहकारी संचालक समिति सदस्य– हेमन्त अधिकारी(फरार)
६) सहकारी संचालक समिति सदस्य– प्रमोद भट्टराई(फारार)
७) सहकारी संचालक समिति अध्यक्ष– थानबहादुर बुढा मगर (फरार)
८) सहकारी संचालक समिति पूर्वसचिव– अनुज नकर्मी(फरार)
९) सहकारी संचालक समिति पूर्वअध्यक्ष– भूपेन्द्र राई(फरार)
१०) सहकारी संचालक समिति पूर्वसदस्य– शिवबहादुर गुरुङ (कारागार चलान)
११) सहकारी संचालक समिति सदस्य– भविस्वर अर्याल (कारागार चलान)
१२) सहकारी संचालक समिति सदस्य– आइस्मा गुरुङ(फरार)
१३) सहकारी संचालक समिति सदस्य– कविता तामाङ(फरार)
१४) सहकारीका संचालक समिति सदस्य– सागर केसी(फरार)
१५) सहकारीका संचालक समिति सदस्य– ललिता तामाङ(फरार)
१६) सहकारीका संचालक समिति सदस्य– दिनेश रोका(फरार)
१७) सहकारी संचालक समिति लेखा अधिकृत– सृष्टी मानन्धर(फरार)
१८) सहकारी संचालक समिति लोन अधिकृत– बुद्धि गुरुङ(फरार)
१९) सहकारी संचालक समितिका पूर्वसचिव– सुरज श्रेष्ठ(फरार) दियोपोस्टबाट साभार