तपस्वी भेषका बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्लाही अदालतकाे आदेश

194 Shares

तपश्वीको भेषमा आश्रम खोलेर अपराधका शृखंला मच्चाएका रामलाल बम्जन(राम बहादुर)लाई सर्लाही जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। 
उनकाअनुसार बिहीबार सात जना वकिलहरूले बहस गर्नु भएको थियाे। प्रतिवादी बम्जनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका गर्नु भएको अदालत स्राेतले जनाएको छ । अदालतमा बम्जनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो।बम्जनविरूद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका ६ हात्तीगौडास्थित आफ्नै घरबाट पक्राउ गरेको थियो।
फरार रहेका बम्जनलाई सिआइबीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले गत मंगलबार पक्राउ गरेको थियो। प्रहरी घर पुग्दा बम्जनले भाग्ने प्रयास गरेका थिए । बम्जनलाई सिआइबीले बुधबार सार्वजनिक गरेको थियो ।बम्जनलाई बुधबार नै गाडीबाट सर्लाही ल्याएर बिहीबार अदालतमा पेश गरेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले बताए ।

सम्बन्धित समाचार