Close This

महायज्ञ उद्घाटन गर्न राष्ट्रपति भण्डारी रौतहटमा

पत्र पत्रिका    प्रकाशित: २०७६-११-६ गते   २५५ पटक हेरिएको

राष्ट्रपति विद्यादेवी भण्डारी एक धार्मिक कार्यक्रममा सहभागी हुन मंगलबार रौतहट आएकी छन् ।उनले मौलापुरस्थित पतौरा महादेव मन्दिरमा पूजा अर्चना गर्नुका साथै यहाँ आयोजित मधानी महायज्ञ उद्घाटन गरेकी छन् । त्यस अवसरमा राष्ट्रपति भण्डारीले ऐतिहासिक मौलिक परम्परालाई महायज्ञले थप उजागर गर्ने धारणा राखिन् ।

उनले प्राचीन शिव मन्दिरलाई व्यवस्थित बनाएर धार्मिक पर्यटन प्रवद्र्धनलाई बढावा दिनुपर्नेमा जोड दिइन् । ताल तलैयाको संरक्षण नहुनु, बढ्दो वन विनाश र प्राकृतिक दोहन लगायतका कारण बर्षेनी धनजनको क्षति हुने गरेको प्रति दुख व्यत गर्दै उनले चुरे संरक्षण र तटबन्ध निर्माणमा सरकारले जोड दिएको पनि बताइन् ।

प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी बचाउ, बेटी पढाउ’ कार्यक्रमको सह्राहना गर्दै राष्ट्रपति भण्डारीले यस्ता अभियानबाट कुनै पनि छोरीहरु निरक्षर नहुने र आत्मसम्मानका साथ आफ्नै खुट्टामा उभिन सक्ने क्षमतावान बन्ने बताइन् ।

तराई मधेशको मेरुदण्ड मानिएको हुलाकी सडक परियोजनालाई प्रदेश २ को सरकारले महत्व दिएर अघि बढाएकोमा राष्ट्रपति भण्डारीले प्रशंसा गरिन् ।कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु साउत, प्रदेश २ को मुख्य सचिव विनय परियार, सांसद तथा नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलगायत सहभागी थिए ।

तीन दिनसम्म चल्ने मधानी महायज्ञमा ३ लाख श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ । महायज्ञलाई भव्य बनाउन नेपाली कलाकार निखिल उप्रेती, केकी अधिकारी, भारतीय कलाकार दिनेशलाल यादव (निरहुआ), अम्रपाली दुवेलगायतको प्रस्तुति पनि राखिएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech