सुरुवात मै एक सय ७८ जनालाई रोजगारी दिँदै बागमतीको नगर बगैँचा

797 Shares

सर्लाहीको बागमती नगरपालिकाले पर्यावरण संरक्षण गर्न भन्दै एक सय २० बिघा क्षेत्रफलमा नगर बगैँचा निर्माण गरेको छ ।बागमती नगरपालिका ३,४ र १२ स्थित रहेको खेर गएको बाँझो एक सय २० बिघा जमिनमा पर्यावरण संरक्षण,नगरको आर्थिक,साँस्कृतिक,उत्पादन र पर्यटन लगायत बहु पक्षिय दिगो विकासका लागि भन्दै नगर बगैँचा निर्माण गरिएको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

उनका अनुसार बागमती नगरपालिका ३ मा ३० बिघा,बागमती ४ र १२ स्थित बुढी बागमती किनारमा ९० बिघा गरी कुल एक सय २० बिघा क्षेत्रफलमा १४ हजार पाँच सय विभिन्न प्रजातिका आँपका बिरुवा लगाइएको छ । स्थानीय नागरिकहरुको श्रम र सिपलाई उत्पादनमुलक कार्यमा परिचालन गरी नगरपालिकालाई आर्थिक,साँस्कृतिक,उत्पादन र पर्यटन लगायत वहु पक्षिय क्षेत्रमा दिगो विकास सहित समुन्नत नगर बनाउने र यस क्षेत्रको खेर गईरहेको सार्वजनिक जमिनको सदुपयोग गर्ने उद्धेश्यले २०७७ सालमा वृक्षारोपण गर्ने योजना बनेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् ।

उनका अनुसार नगर भित्रको उजाड,खेर गइरहेको जमिनको सदुपयोग गर्दै आन्तरिक आयमा वृद्धि गर्न साथै वातावणीय पर्यावरणलाई जोगाउन वृक्षारोपण गर्ने निर्णय भई सुरु भएको नगर बगैँचा अहिले एक सय २० बिघामा फैसिलएको छ । बागमती नगरपालिकाको रु एक करोडको लागतमा निर्माण भएको एक सय २० बिघा क्षेत्रफलको नगर बगैँचामा दसहरी,बम्बई र माल्दह लगायतका जातका आँपका विरुवाहरु रहेको बागमती नगरपालिकाको रोजगार संयोजक निलम कुशवाहाले बताइन् ।

उनका अनुसार नगर बगैँचा निर्माण तथा सुरक्षा र नगर बगैँचाको निर्माणमा नेपाल सरकारको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकहरु परिचालन गरीएको छ ।भारत लगायत विभिन्न मुलुकबाट विषादीयुक्त फलफुलको खुला आयातले उपभोक्ताको स्वास्थ्यमा गम्भिर समस्याहरु देखा परिरहेको साथैै नेपाली मुद्रा बाह्य देश गईरहेको अवस्थामा बागमती नगरपालिकाले निर्माण गरेको एक सय २० बिघाको नगर बगैँचाले फल दिन थालेपछि सो समस्या समाधान हुने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताए । उनका अनुसार नगर बगैँचाले फल दिन थालेपछि नेपाली सधैँ अर्कोको भरमा बाँच्नु पर्ने अवस्थाको थोरै भएपनि अन्त्य हुने छ ।

एक सय २० बिघा क्षेत्रफलमा निर्माण भएको नगर बगैँचाबाट वार्षिक करिब रु चार करोड नगरपालिकालाई आन्तरिक आम्दानी हुने साथै करिब तीन सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए । बागमती नगरपालिका क्षेत्रमा हाल वन जंगलको अभावका कारण विभिन्न जंगली पशुपंक्षीहरुको बासस्थानमा समेत समस्या भइरहेको अवस्थमा नगर बगैँचाले जंगली पशुपंक्षीहरुको बासस्थानमा सहयोग पुर्याउने साथै पर्यावरणको संरक्षणमा पनि नगर बगैँचाले ठुलो योगदान पुर्याउने बागमती नगरपालिकले जनाएको छ ।

दिगो विकास,हरियाली वातावरणको सृजना,आन्तरिक आयमा वृद्धी,रोजगारीको सृजना,पशुपंक्षीहरुको समेत संरक्षण लगायत जैविक विविधताको संरक्षणमा नगर बगौँचाले मद्धत पुर्याउने नगरपालिकाले अपेक्षा गरेको छ भने नगर बगैँचामा अहिले एक सय ७८ जना विपन्न नागरिकहरुले रोजगारी पाएका नगरपालिकाले रोजगार शाखाका सन्तोष गदालले बताए ।

सम्बन्धित समाचार