Close This

नेतालाई चुनाव लाग्यो,आगलागी पीडित परिवारको बिचल्ली

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-१६ गते   १६८७ पटक हेरिएको

सर्लाहीको धनकौलमा केही साता अघि भएको आगलागीका पीडित परिवारको बिचल्ली भएको छ । धनकौल गाउँपालिका ५ हरकठवाका १३ विपन्न पासवान परिवारको बिचल्ली भएको छ । देशव्यापी स्थानिय निकायको निर्वाचनको चहलपहल चलि रहेको भएपनि आगलागीबाट घरवार बिहिन भएका परिवार प्रति कसैको चासो पुगेको छैन ।
आगलागीबाट घरबार गुमाएका पासवान परिवार त्रिपालमुनी रात विताउन बाध्य भएपनि जिल्लाका कुनै पनि राजनैतिक दलहरु र तीनका नेताहरुको ध्यान पुगेको छैन । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले केही खाद्यान्न र गाउँपालिकाले दिएको एक थान त्रिपालको भरमा गुजारा चलाउनु परेको आगलागी पीडितको गुनासो छ ।
दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका आफुहरु आगलागीपछि खुला आकासमुनि आइपुगेको स्थानिय रवि पासवनाले बताउनु भयो । उहाँका अनुसार धनकौल गाउँपालिका ५ हरकठवाका १३ विपन्न पासवान परिवारको बिचल्ली भएको छ । आफूसँग भएका अन्नपात, लत्ताकपडा र फुसका झुपडी जलेर खरानी भएपछि दैनिकी चलाउनसमेत मुस्किल परेको पीडित लीलावती देवी पासवानले गुनासो गर्नु भयो ।
त्रिपाल टाँगेर बस्दै आएका उनीहरू बर्खायाम सुरु हुन लागेकाले थप चिन्तित बनेका छन् । ‘घर खरानी भयो,’ पीडित लीलावतीले भनिन्, ‘हामी दैनिक ज्याला मजदुरी गरेर जसोतसो परिवार पालिरहेका छौँ । अब कसरी घर बनाउनु ? बर्षातको समय आउन लाग्यो । यसरी त्रिपाल मुनी लालाबाला कसरी जोगाउनु ?’ आगलागी पीडितको गुनासो छ ।
देशभर निर्वाचनको चहलपहल सुरु भयो रे हामीलाई बिहान बेलुका के खाने चिन्ता छ । गगनदेव पासवानले बताउनु भयो । नेता फेरी भोट माग्न आउने होलान । आफुहरुको दुःखमा कोही आएनन् । अब भोट किन दिनु उनिहरुलाई पासवानले बताउनु भयो ।
बर्षातको समय आउन लाग्यो परिवारलाई कसरी जोगाउने भन्ने चिन्ता बढ्दै गएको छ । पालमुनि बसेर दैनिकी कटाउन मुस्किल परेको आगलागीपीडितहरुको गुनासो छ । आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, शीतल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगनदेव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको धनकौल गाउँपालिका ५ का वडाध्यक्ष गजेन्द्र महतोले बताउनु भयो ।
अग्निपीडिहरूका सामु दैनिक गुजारा चलाउनेदेखि पुनर्वासको ठूलो समस्या देखिएको र गाउँपालिकाले खाद्यान्न र त्रिपाल वितरण सहयोग गरिसकेकाले थप सहयोग गर्न नसकिने धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय राहले बताउनु भयो । उहाँका अनुसार  ‘आगलागीबाट घरबारविहीन भएका परिवारलाई प्रति परिवार २५ किलो चामल, दाल, चिउरा, तेल, ग्यास सिलिन्डर चुलो, केही भाडा गाउँपालिकाले सहयोग गरेको छ । उनीहरूलाई तत्कालका लागि कम्बल र त्रिपालसमेत वितरण गरि सकेको’ गाउँपालिका अध्यक्ष साहले बताउनु भयो ।‘घरखर्च भनेर प्रति परिवार रु ५–५ हजारका दरले नगदसमेत दियौँ । अब घरवासको विषयमा हामीले सोचेका छैनौँ । हामीसंग विपद् व्यावस्थापन सम्बन्धी धेरै रकम पनि छैन ।’ गाउँपालिकाले गर्नसक्ने सबै सहयोग गरेको गाउँपालिका अध्यक्ष साहले दाबी गर्नुभयो ।
आगलागी पीडितहरूको दीर्घकालीन व्यवस्थापनमा पालिका आफैँ लाग्नुपर्ने सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम विपद् व्यवस्थापन समितिका संयोजक थानेश्वर गौतमले बताउनु भयो ।‘जिल्लामा रहने व्यवस्थापन समितिसँग उनीहरूलाई घरवास व्यवस्थापन गर्ने सुरक्षित गर्ने योजना र बजेट हुँदैन,गाउँपालिका आफैँ सरकार हो’ प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयोे, । उहाँका अनुसार ‘अन्य दातृ संघ÷संस्थासँगको सहयोगमा खाद्यान्न, लत्ताकपडासमेत वितरण गरिएको छ । बर्षातको समय सुरु हुन लागेकाले आगलागी पीडितहरुलाई समयमै सुरक्षित आवासमा फर्काउन स्थानीय सरकारले पहल गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनु भयो ।निर्वाचनको चहल पहल सुरु भएको भएपनि आगलागी पीडितहरु बिचल्लीमा परेका छन् । आगलागी पीडितहरुलाई निर्वाचनको चहल पहल कागलाई बेल पाक्यो हर्षन विस्मात भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech